गोविन्द थापाको नेतृत्वमा लुम्बिनी बौद्ध विश्वविद्यालय र गौरादह, गौरीगञ्ज, उत्तरगया बीच BTCSOL कार्यक्रम संचालन गर्ने सम्झौता
लुम्बिनी । चीन नेपाल मैत्री औद्योगिक पार्कका अध्यक्ष गोविन्द थापाको नेतृत्वमा लुम्बिनी बौद्ध विश्वविद्यालय र झापाका गौरादह नगरपालिका, गौरीगञ्ज गाउँपालिका र रसुवाको उत्तरगया गाउँपालिकाबीच (Bachelor in Teaching Chinese to Speakers of Other Languages) ब्याचलर इन टिचिङ चाइनीज टु स्पिकर्स अफ अदर ल्याङ्ग्वेजेस कार्यक्रम सञ्चालनका लागि पाँच वर्षे सम्झौतामा हस्ताक्षर भएको छ।
सम्झौतामा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुवर्णलाल बज्राचार्य र पालिका प्रमुखहरूले सोमबार हस्ताक्षर गर्नुभएको हो। सम्झौता लुम्बिनी बौद्ध विश्वविद्यालय मै भएकाे हाे ।
यो सहकार्य स्थानीय तहबाटै चिनियाँ भाषा, ज्ञान विज्ञान, टेक्नोलोजी, विकासका कुरा हरेक नेपालीलाई सिकाउने उद्देश्यले सुरु गरिएको हो। जसमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई पनि सहुलियतमा उक्त कोर्ष पढाइने उद्देश्य रहेको छ। सम्झौताअनुसार, विश्वविद्यालयले विद्यार्थी भर्ना, शिक्षण, परीक्षा सञ्चालन, पाठ्यक्रम व्यवस्थापन र गुणस्तर अनुगमनको जिम्मेवारी लिनेछ भने पालिकाले कक्षा कोठा, शिक्षक आवास, यातायात र छात्रवृत्तिका व्यवस्थापन जिम्मा लिनेछ।
कार्यक्रममा चीन–नेपाल मैत्री औद्योगिक पार्कका अध्यक्ष गोविन्द थापाले चिनियाँ भाषा सिक्न चाहनेहरूको संख्या विश्वभर बढेको र नेपाल पनि पछि पर्नु नहुने बताउनुभएको छ। उहाँका अनुसार, चिनियाँ भाषा आज पनि अत्यन्तै आवश्यक र भविष्यको महत्वपूर्ण भाषा बन्नेछ र नेपाली युवाले यसलाई प्राथमिकतामा राखेर आफ्ना करियरका अवसरहरू बढाउन सकिने बताउनुभएको छ।
थापाले अहिले विश्वमा अमेरिका र भारतले धेरै नै चिनियाँ भाषा सिक्न खोजिरहेको उल्लेख गर्दै उहाँले अमेरिकामा मात्र १० लाख, फ्रान्समा दुई लाख, वेलायतमा एक लाख पचास हजारले चिनियाँ भाषा सिकिरहेको बताउनुभयो। उहाँले लुम्बिनी विश्वविद्यालयले यस कार्यक्रममार्फत नेपालीलाई चिनियाँ भाषा सिकाउन युरोप र अमेरिकालाई समेत उछिन्ने विश्वास लिएको पनि बताउनुभयो।
कार्यक्रममा बोल्दै गोविन्द थापाले भन्नुभयो, ‘चिनियाँ भाषा अहिले विश्वमा धेरै माग भएको भाषा हो। चीनले विज्ञान, प्रविधि र व्यापार अर्थतन्त्रमा गरेको प्रगतिबाट हामीले पनि सिक्नुपर्ने भएकाले यो कोर्ष अति नै महत्वपूर्ण रहेको बताउनुभयो।’
उहाँले थप भन्नुभयो, ‘भाषाकै प्रसंगमा हामी यहाँ भेला भएका छौं। यो समारोको विषयको केन्द्र हो भाषा, नेपाली युवाहरूले चिनियाँ भाषा सिक्ने ठूलो अवसर पाउने भएका छन्। यसका लागि लुम्बिनी बौद्ध विश्वविद्यालयले गरिरहेको कामको म उच्च मूल्याङ्कन गर्छु।’
उहाँले यो कार्यक्रमको महत्व नेपालको भाषिक विकाससँग जोडिएको बताउँदै रोजगारी, प्रविधि, आर्थिक गतिविधि लगायत विभिन्न विषयसँग पनि जोडिएको बताउनुभयो।
कार्यक्रमका लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुवर्णलाल बज्राचार्यले नेपालले चीनबाट पहिले नै लाभ लिनुपर्नेमा केही ढिला भएको र अब ढिला गर्नु नहुने बताउनुभयो। उहाँले चिनियाँ विज्ञान र प्रविधिसँग जोडिएको कोर्ष पढ्न नेपालीले अब पछि हट्नु नहुने समेत बताउनुभयो। उहाँले अब कृषिका काेर्षहरु अघि बढाउने र हामीले नेपाललाई आवश्यक पर्ने कोर्ष तयार पारिरहेका छौं, उहाँले भन्नुभयो।
लुम्बिनी बौद्ध विश्वविद्यालयका प्रा. डा. कुमार खड्काले कार्यक्रमको महत्त्व र याे समग्र नेपाली समाजको लागि फाइदाजनक रहनेमा विश्वास व्यक्त गर्दै भन्नुभयो, ‘हाम्रो जस्तो मुलुकले कुनै पनि समृद्ध मुलुकबाट सिक्नुपर्ने कुरा उल्लेख गर्दै याे काेर्षले समृद्ध नेपाल निर्माण गर्न धेरै टेवा पुर्याउने भनेर यस काेर्षका्े चर्चा गर्नुभयो।’
कार्यक्रमका अवसरमा लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्य लगायत विभिन्न प्रध्यापक र अन्य स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
सम्झौताअनुसार, प्रारम्भिक चरणमा प्रत्येक कक्षामा ४० जना विद्यार्थी हुनेछन्। यदि विद्यार्थीको संख्या २० भन्दा कम भयो भने, उक्त कक्षा लुम्बिनी बौद्ध विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा स्थानान्तरण गरिनेछ।
गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदी र गौरिगञ्ज गाउँपालिकाका अध्यक्ष फुलवति राजवंशीले यस कार्यक्रमलाई अत्यन्त उपयोगी र प्रेरणादायक बताउँदै चिनियाँ लेभलकाे शिक्षा प्राप्त गर्ने अवसरले विद्यार्थीहरूको जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। उहाँहरूले यसले झापाको लागि मात्र नभएर समग्र देशको लागि फाइदा पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो।
उत्तरगया गाउँपालिकाका प्रमुख माधव प्रसाद अर्यालले पनि चिनियाँ भाषा सँगै चिनियाँ उन्नत काेर्ष सिक्ने अवसरले युवाहरूलाई विभिन्न रोजगारका अवसरहरू सिर्जना गर्ने कुरा उल्लेख गर्नुभयाे । ‘ रसुवा चीन सँगको सीमा जोडिएको क्षेत्र भएका कारण, हामीलाई चिनियाँ भाषाको महत्त्व बुझ्न आवश्यक छ भन्दै अहिले रसुवाको नाकामा भाषा सिक्ने र नसिक्नेको आम्दानीमा ठूलो फरक रहेको उल्लेख गर्दै उहाँले अहिले चिनियाँ भाषा अत्यन्तै आवश्यक रहेको बताउनुभयो।’ उहाँले उत्तरगयामा मात्र पाँच सय भन्दा बढी युवा रहेको र उनीहरूको आफ्नो आम्दानीको मुख्य श्रोत नाका रहेको र भाषाको अभावमा उनीहरूको आम्दानी घटेको समेत बताउनुभयो।
यसै सन्दर्भमा लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक डा. सागर न्यौपानेले नेपालको सबैभन्दा ठूलो योजना (चीन नेपाल मैत्री औद्योगिक पार्क )गोविन्द थापा र प्रधानमन्त्री केपी शर्मा ओलीको अदम्य साहसले अगाडि बढेको उल्लेख गर्दै त्यहाँ पछि दुई देखि चालीस हजारसम्म विद्यार्थीले रोजगारी पाउने विश्वास व्यक्त गर्नुभयो।




























