केपी ओलीको सुझबुझपूर्ण अभिव्यक्तिले विश्व नै चकित
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ डक्ट्रिन सुरु गर्नुभएको छ ? आज नेकपा एमालेका केन्द्रीय सदस्य गोविन्द थापाले यो सम्बन्धमा गम्भीर र नयाँ विचार ल्याउनुभएको छ । उहाँले सामाजिक सञ्जालमा आफ्नो भिडियो ब्लगमा केपी ओली डक्ट्रिनको चर्चा गर्नुभएको हो ।
नेपालले विदेश नीतिमा नयाँ डक्ट्रिन दिएको चर्चा गर्दै थापाले आफ्नो भिडियो ब्लगमा ओली डक्ट्रिनले विदेश नीतिमा नेपालमा नयाँ युग सुरु भएको बताउनुभएको हो ।
विदेश नीतिमा ओली डक्ट्रिनबारे थापाले विस्तृतमा बताउनुभएको छैन, उहाँले ओली डक्ट्रिन बारे भविष्यमा भिडियोहरु बनाउने र लेखहरु लेख्ने भन्नुभएको छ ।
विश्वमा विदेश नीतिमा विभिन्न किसिमका डक्ट्रिनहरु प्रचलित छन् । दक्षिण एसियामा पनि एकताका भारतका तत्कालीन प्रधानमन्त्री आइके गुजरालले अपनाएको विदेश नीतिलाई लिएर गुजराल डक्ट्रिन चर्चित थियो । केही समय अघि रास्वपाका सांसद् स्वर्णिम वाग्लेले मुनरो डक्ट्रिन चर्चामा ल्याउनुभएको थियो ।
अमेरिकाका राष्ट्रपतिहरुले लिएको विदेश नीतिका आधारमा विभिन्न डक्ट्रिनहरु चर्चा गर्ने गरिन्छ । ट्रुम्यान डक्ट्रिन, आइजनहावर डक्ट्रिन, निक्सन डक्ट्रिन, कार्टर डक्ट्रिन आदि । केन्द्रीय सदस्य थापाले केपी ओलीको विदेश नीतिलाई डक्ट्रिनको उचाईमा मूल्यांकन गर्नुभएको छ ।
केपी ओलीले नेपालको विदेश नीतिलाई प्रष्ट र स्पष्ट बाटोमा लगेको चर्चा गर्दै थापाले नेपालको विदेश नीति ओली डक्ट्रिनमा अगाडि बढेको चीनमा झन् प्रष्टसँग देखिएको भन्दै भावी भारत भ्रमणमा पनि यो कुरा देखिने अपेक्षा गर्नुभएको छ ।
चीन भ्रमण तथा वैदेशिक नीतिमा ओलीको सुझबुझ, आँट, विवेक, अनुभव र देशलाई केन्द्रमा राखेर व्यवहार गर्ने क्षमताले विश्व नै चकित भएको उहाँको भनाई छ ।
थापा भन्नुहुन्छ, ‘प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग लिपुलेक सम्बन्धी मुद्दा ठाडै उठाउनुभयो । ओलीले अडान राख्न सक्नुहुन्न भनेर धेरैले प्रचार गरेका थिए । ओलीले स्पष्ट अडान राखेपछि उनीहरु भन्न थालेका छन्, आफ्ना कुरा राखेर मात्र हुन्छ ? बोलेर मात्र हुन्छ ? यसमा मेरो जवाफ के छ भने कूटनीतिमा कुनै पनि उपलब्धी हासिल गर्न सबैभन्दा पहिले आफ्नो अडान राख्नुपर्छ, विचार राख्नुपर्छ, खुट्टा कमाउन हुँदैन । पाइला चालेपछि गन्तव्यमा पुगिन्छ । पाइलै नचाले कहिँ पनि पुगिँदैन । ओलीले लिपुलेक प्राप्तितर्फ प्रष्टसँग पाइला चाल्नुभएको छ । यद्यपी यो यात्रा लामो हुनेछ भन्ने हामी सबैले बुझ्न जरुरी छ ।’
सामान्यतया नेपालले अन्तर्राष्ट्रिय कूटनीतिमा ठाडो रूपमा अडान र विचार राख्ने नगरेको सन्दर्भ बताउँदै उहाँले प्रधानमन्त्री ओलीको नेतृत्वमा यसअघि पनि नेपालले प्रष्ट अडान राखेको र अहिले पनि राखेकोमा प्रशंसा गर्नुभएको छ ।
भारत भ्रमणमा लिपुलेकबारे कुरा उठाइएन भने चीनमा राखिएको अडान कमजोर हुने विष्लेशण गर्दै थापाले त्यो अवस्थामा नेपालको कूटनीतिक पराजय हुने र नेपालको शिर निहुरिने ठहर गर्दै थापाले भन्नुभएको छ, ‘प्रधानमन्त्री ओलीबाट नेपालको शिर निहुरिने कुरा म असम्भव देख्छु ।’
प्रधानमन्त्री ओलीले एससीओ प्लसमा राख्नुभएको विचारलाई थापाले ‘आश्चर्यजनक’ भन्नुभएको छ । नेपालका प्रधानमन्त्रीले विश्व मञ्चमा डराई डराई बोल्नुपर्छ, आफ्नो राष्ट्रिय हितको कुरा पर्दा पछाडि मात्र भन्नुपर्छ, पर्दा अगाडि भन्न हुँदैन भन्ने मान्यता बोक्ने एकथरी नेपाली बुद्धिजीवीहरु ओलीको अभिव्यक्तिले छक्क परेको उहाँले बताउनुभएको छ ।
ओलीले बहुध्रुवीय विश्वको सट्टा बहुपक्षीयताको चर्चा गर्नुलाई थापाले अर्थपूर्ण ठान्नुभएको छ ।
आफ्नो भिडियो ब्लगमा थापाले भन्नुभएको छ– ‘नयाँ विश्व व्यवस्थामा ओलीको व्यवहारिक र खरो टिप्पणी अति उच्चकोटीको देखियो । उहाँले के भन्नुभएको छ भने आजको युगमा बहुपक्षीयता अपरिहार्य भएको छ । नेपालको विश्व दृष्टिकोण यति प्रष्ट र निर्भिकतासाथ राख्ने प्रधानमन्त्री विगतमा कोही पनि भएन, केपी ओली मात्र हो । नियममा आधारित अन्तराष्टिय प्रणाली चुनौतीमा परेको विचार ओलीले राख्नुभएको छ । शान्ति र न्याय दुर्लभ छ, बहुपक्षीयता नै संकटमा छ भन्ने प्रधानमन्त्री ओलीको भनाईलाई म साहसिक अभिव्यक्ति मान्छु ।’
प्रधानमन्त्रीको चीन भ्रमणको निष्कर्ष थापाले यसरी सुनाउनुभएको छ– ‘प्रधानमन्त्रीका अभिव्यक्तिलाई मैले निकै ध्यानपूर्वक सुने, पढे, धेरै विचार गरें । धेरै चिन्तन मनन गर्दा मैले के पाएको छु भने नेपालले विदेश नीतिमा ओली डक्ट्रिन दिएको छ । ओली डक्ट्रिनको बारेमा म अहिले केही भन्दिनँ, यसबारेमा म पछि केही भिडियोहरु बनाउन प्रयास गर्नेछु, केही लेखहरु लेख्नेछु ।’












