भिक्ट्री डेमा केपी ओलीः कुतर्क विरुद्ध गोविन्द थापाका तथ्यपरक तर्क
काठमाडौं । कुतर्क विरुद्ध तर्क भन्दै नेकपा एमालेका केन्द्रीय सदस्य गोविन्द थापाले प्रधानमन्त्रीको चीन भ्रमण सम्बन्धमा नयाँ कुरा ल्याउनुभएको छ ।
प्रधानमन्त्री ओली चीनमा आयोजित जापानविरुद्ध चिनियाँ जनताको युद्ध र फासीवाद युद्धमा विजयको ८०औँ वार्षिकोत्सव अर्थात् विजय दिवसमा सहभागी हुनुभएको थियो । दिवसको अवसरमा चीनले भव्य सैन्य परेड आयोजना गरेको थियो । सैन्य परेडमा सहभागी भएर प्रधानमन्त्री ओलीले नेपालको असंलग्न परराष्ट्र नीति उल्लंघन गरेको, जापान रिसाउने काम गरेको भन्दै एक खाले बुद्धिजीवीहरुले अहिले विरोध गरिरहेका छन् ।
ओलीको विरोधमा आएका त्यस्ता विचारलाई गोविन्द थापाले ठाडै कुतर्क भन्नुभएको छ । विजय दिवसमा सहभागी हुँदा जापान नरिसाउने पनि थापाको जिकिर छ । आज सामाजिक सञ्जालमा एक भिडियो ब्लग जारी गर्दै थापाले भन्नुभएको छ, ओलीले जापान रिसाउने काम गर्नुभएको छैन, असंलग्न परराष्ट्र नीति विपरित पनि जानुभएको छैन ।
थापाले मंगलबार एक भिडियो ब्लग जारी गर्दै नेपालको विदेश नीतिमा ओली डक्ट्रिन सुरु भएको विचार राख्नुभएको थियो । आज उहाँले जापानसँग नेपालका सम्बन्ध बिग्रँदैन भन्दै विचार राख्नुभएको हो ।
केन्द्रीय सदस्य थापाका विचारका १३ महत्वपूर्ण अंश ः
१) दोस्रो विश्वयुद्धको एउटा मुख्य कारण जापानको साम्राज्यवादी सैन्यवादी नीति पनि थियो । अहिलेको जापान न साम्राज्यवादी हो, न सैन्यवादी नै छ । त्यसबेलाको जापान अर्कै हो, अहिलेको जापान अर्कै हो । त्यसबेला लिएको सैन्यवादी साम्राज्यवादी नीतिलाई जापान आफैंले पनि गल्ती हो भन्छ । त्यसबेला आफ्नो देशले गरेको गल्तीबाट आजको जापान लज्जित हुन्छ । चीनले विजय दिवस मनाउँदा जापान आफैंले पनि आपत्ति जनाउँदैन । अहिलेको विजय दिवसमा जापानका केही प्रतिनिधिहरुको पनि सहभागिता छ । यो तथ्य नबुझी नेपालमा स्यालहुईंयाँ मच्चाइँदै छ ।
२) दोस्रो विश्वयुद्धमा जापानमा अमेरिकाले लिटिल ब्वाई र फ्याट म्यान नामको दुईटा एटम बम नागासाकी र हिरोशिमामा हान्यो । लाखौं मानिस मारिए । विश्व इतिहासको अति कलंकित त्यो काम गरेको थियो अमेरिकाले । त्यहाँ एटम बम हानिएको विरोधमा जापानमा मात्र नभएर विश्वभरी विभिन्न कार्यक्रम गरिन्छ । त्यस्ता कार्यक्रममा नेपाल सहभागी हुन्छ । नेपालमै पनि जापानी दूतावासले त्यस्तो कार्यक्रम आयोजना गर्ने गरेको छ । नेपालका प्रधानमन्त्री पनि सहभागी हुने गरेका छन् । त्यस्तो कार्यक्रममा सहभागी हुँदा नेपालसँग अमेरिका रिसाउँछ त ?
३) धेरै टाढाको कुरा के गर्नु ? छिमेकी भारतले हरेक वर्ष स्वतन्त्रता दिवस मनाउँछ । ठूलो संघर्ष र आन्दोलन गरेर वेलायतबाट भारत स्वतन्त्र भएको थियो । वेलायतले भारतमा ठूलो अत्याचार गरेको थियो । स्वतन्त्रता दिवसमा वेलायती अत्याचारको स्मरण गरिन्छ । हो, त्यो स्वतन्त्रता दिवसमा नेपालले भारतलाई शुभकामना सन्देश पठाउँछ । काठमाडौंमा भारतीय दूतावासमा भव्य समारोह आयोजना गरिन्छ । नेपाल सरकारका उच्च अधिकारीहरु त्यसमा सहभागी हुन्छन् । अनि, यसरी सहभागिता जनाए वापत नेपालसँग वेलायत रिसाएको छ त ?
४) अहिले विश्वका ५६ वटा देश विगतमा वेलायतका उपनिवेश थिए । उपनिवेश बनाउँदा र बनाएपछि वेलायतले अत्याचार गरेकै हो । हरेक देशले स्वतन्त्रता दिवस या यस्तै किसिमको समारोह आयोजना गरेर वेलायती अत्याचारको स्मरण गर्छन् । त्यस्ता कैयन देशहरुलाई नेपालले शुभकामना सन्देश पठाउँछ । त्यसो गर्दा वेलायत नेपालसँग रिसाएको छ त ?
५) साम्राज्यवादी देश वेलायत मात्र थिएन, फ्रान्स, जर्मनी, पोर्चुगल, स्पेन, निदरल्याण्ड्स लगायतले विभिन्न देशलाई उपनिवेश बनाएका थिए । ती देशले उपनिवेश कालको स्मरण गर्दै विभिन्न दिवस मनाउँछन् । यो तथ्य नबुझी जापानले चीनमा गरेको अत्याचार विरुद्धको विजय दिवसमा सहभागी हुँदा नेपालसँग जापान रिसाउँछ भनेर दुष्प्रचार किन गरिँदैछ ? यदि रिसाउँछ भने त्यो चीनको पनि गल्ती होइन, नेपालको पनि गल्ती होइन, जापानकै गल्ती हुन्छ । तर, अतितको साम्राज्यवादी फासीवादी विचारसँग सम्बन्ध विच्छेद गरिसकेको जापान रिसाउने कुरै आउँदैन ।
६) दोस्रो विश्वयुद्धमा युरोपेली देशहरु नाजीवाद र फासीवादको सिकार बनेका थिए । उनीहरुले पनि विभिन्न तरिकाले नाजीवाद फासीवाद विरुद्ध खासखास दिनमा समारोह आयोजना गर्छन् । त्यसरी समारोह गर्दा उनीहरुसँग फासीवाद नाजीवादको तत्कालीन अगुवा इटाली र जर्मनी रिसाउँछ त ? लु भन्नुस् त, रिसाउँछ त ? अनि नेपालसँग जापान चाहिँ कसरी रिसाउँछ ?
७) चीनले विजय दिवसमा सैन्य परेड आयोजना गर्छ, अरु देशको आर्मी परेडमा नेपाल सहभागी हुनुहुँदैन भन्ने अर्काे कुतर्कको पनि म जवाफ दिन्छु । सो समारोहमा नेपालका प्रधानमन्त्री केपी ओली मात्र सहभागी हुने होइन, तीन दर्जन देशका सरकार तथा राष्टप्रमुख सहभागी छन् । डेढसय करिब देशका प्रतिनिधि तथा कूटनीतिज्ञहरु सहभागी हुँदैछन् । ती देशहरुसँग जापान नरिसाउने तर नेपालसँग चाहिँ रिसाउने हुन्छ र ? यस्तो कुतर्क नगरौं ।
८) केही समय अघि अमेरिका र रुसले पनि भव्य आर्मी परेड आयोजना गरेका थिए । त्यसमा विभिन्न देशका प्रतिनिधि सहभागी भएका थिए । भारतले स्वतन्त्रता दिवसको अवसरमा दिल्लीको लालकिल्लामा आर्मी परेड आयोजना गर्छ र विदेशी राष्ट्राध्यक्षहरुलाई पनि बोलाउँछ ।
सरकार प्रमुख या राष्ट्र प्रमुख अर्काे देशको भ्रमणमा जाँदा पनि सैन्य परेड आयोजना गरिन्छ । त्यस्तो बेला चाहिँ सानो स्तरको आर्मी परेड गरिन्छ । नेपालले पनि अरु देशका सरकार प्रमुख या राष्ट्र प्रमुख आउँदा सानो स्तरको आर्मी परेड गरेर तोप पड्काएर सलामी दिन्छ । यस्ता सबै तथ्य बिर्सिएर नेपालका प्रधानमन्त्री चीनको आर्मी परेडमा सहभागी हुनु आपत्तिजनक हो भन्नु हास्यास्पद होइन र ?
९) केपी ओलीेले चीन भ्रमणको क्रममा राष्ट्रको इज्जत, प्रतिष्ठा र स्वाभिमानलाई उच्च बनाउनुभएको छ । यो कुरालाई उजागर गर्नु हाम्रो कर्तव्य होइन र ? यसो नगरेर भ्रमणको उपलब्धीलाई ओझेलमा पार्न जापान विरुद्ध नेपाल लाग्यो, असंलग्न नीति त्याग्यो भन्दै भ्रम फैलाउनु गलत मात्र होइन, अपराध नै हो ।
अतितमा धेरै देशले गल्ती गरेका छन् । अरुमाथि अत्याचार गरेका छन् । त्यस्ता गल्ती र अत्याचारको स्मरण गर्नु मानव समाजको कर्तव्य हो । भविष्यमा त्यस्तो गल्ती र अत्याचार कसैले नगरुन् भनेर स्मरण गर्ने काम गरिन्छ । अतितमा गरिएको गल्ती अहिलेको पुस्ता र भविष्यको पुस्तालाई थाहा हुनैपर्छ । यही भएकाले विभिन्न देशहरुले विभिन्न दिवस मनाउँछन् । यही क्रममा चीनले पनि विजय दिवस मनाएको हो ।
१०) चीनले विजय दिवस मनाउँदा चीनसँग जापान रिसाउँदैन । अनि, नेपालसँग कसरी रिसाउँछ ? यद्यपी चीन र जापानको आपसी सम्बन्धमा अनेक समस्या छ, यही दिवस मनाएको कारणले चाहिँ उनीहरु बीचको सम्बन्धमा थप समस्या आउँदैन । चीनसँग जापान नरिसाउने, चीनले आयोजना गरेको समारोहमा भाग लिँदा नेपालसँग चाहिँ रिसाउने ? यस्तो कुतर्क गरेर के स्थापित गर्न खोजिएको हो ?
११) चीन र जापान बीचको अहिलेको समस्यासँग नेपाल तटस्थ बस्छ तर इतिहाससँग तटस्थ बस्न सकिँदैन । चीनमाथि भएको साम्राज्यवादी अत्याचारको पनि नेपालले विरोध गर्छ, जापानमाथि भएको आणविक हमलाको पनि नेपालले विरोध गर्छ । यो कुरा सबैले बुझ्न जरुरी छ ।
१२) अब अर्काे बुझ्नै पर्ने कुरा के भने दोस्रो विश्वयुद्धसँग नेपालको सम्बन्ध । दोस्रो विश्वयुद्धको समाप्ति लगत्तै चीनमा साम्राज्यवादी अत्याचार अन्त्य भयो । विश्वमा नाजीवाद र फासीवादको पनि पराजय भयो । नाजीवाद, फासीवाद, साम्राज्यवाद विरुद्धको लडाईंमा नेपाल प्रत्यक्ष सहभागी थिएन तर नेपालीहरु सहभागी थिए । दोस्रो विश्ययुद्धमा वेलायती फौजमा अढाई लाख नेपाली सहभागी थिए । उनीहरुमध्ये अधिकांशले जापान विरुद्धको लडाईंमा भाग लिएका थिए । दोस्रो विश्वयुद्धमा करिब २५ हजार नेपाली मारिएका थिए, जापानसँगको युद्धमा मात्र १५ देखि २० हजार नेपाली मारिएका थिए । अर्थात्, जापानी साम्राज्यवादको सिकार नेपाली पनि भएका थिए ।
१३) जापानी साम्राज्यवाद र फासीवादको विरोध गर्नु भनेको इतिहासको त्यो कालखण्डको स्मरण गर्दै हाम्रा पुर्खाहरुलाई श्रद्धाञ्जली दिनु पनि हो । यसो गर्नुलाई साम्राज्यवाद र फासीवादसँग सम्बन्ध विच्छेद गरिसकेको आजको जापानको विरोध गर्नु हो भनेर बुझ्नु पनि मूर्ख सोचाईं हो ।











