२१ मंसिर २०८२, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

गृहमन्त्रीलाई एमालेका ६ जनाको ‘लेटर बम’

प्रकाशित मिति :  ९ कार्तिक २०८२, शनिबार १९:०६


काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायका हतियार लुट्नेहरु कसैलाई पक्रने कसैलाई रिहा गर्ने किन गरिरहेको हो ? गृहमन्त्री आफैंले हतियारधारी समूह चलाउन खोजेको त होइन ? यस्तो गम्भीर प्रश्न उठाइएको छ ।

देशमा गुण्डाराज चलाएको, गिरोह चलाएको, अपराधीलाई छुट दिएको आरोप लागेको छ । एमालेका ६ जना हस्तीहरुले आज गृहमन्त्रीलाई एक चेतावनी पत्र जारी गर्दै यो सरकार हो कि गिरोह हो भनी प्रश्न उठाउनुभएको हो ।

एमालेका कहलिएका व्यक्तित्वहरु शान्ता चौधरी, भगवती न्यौपाने, गोविन्द थापा, डा. सुन्दरी पोखरेल, अइन्द्रसुन्दर नेम्वाङ र पार्वती रावलले आज गृहमन्त्रीलाई सार्वजनिक रुपमा चेतावनी पत्र जारी गर्दै भन्नुभएको छ— ‘हतियार लुट्ने र लुटिएका हतियार बटुल्ने गिरोहलाई कानुनको कठघरामा ल्याउने तपाईको उद्देश्य पनि देखिएन, नियत पनि देखिएन । राज्यको पहुँच बाहिर लुटिएका हतियार पुराएर ती हतियारको बलमा नयाँ हतियारधारी समूह जन्माउने उद्देश्यलाई तपाईंले सघाउ पुराइरहनुभएको त होइन ?’

चेतावनी पत्रमा उहाँहरुले गृहमन्त्री अर्यालले खासखास गिरोहका सदस्य भनी पहिचान भएपछि पक्राउ परेका अपराधीलाई पनि छाडेको आरोप लगाउँदै टिओबी गिरोहका सदस्यहरुको देशी विदेशी कनेक्सन खोज्न प्रहरीलाई रोक लगाएको दावी गर्नुभएको छ । टिओबी गिरोहका केही सदस्य पक्राउ परेपछि उनीहरुको बारेमा थप खोजविन र छानविन नगर्नु भनी किन आदेश दिएको ? उहाँहरुले प्रश्न उठाउनुभएको छ ।

वाकीटकी बोकेको समूह, पेस्तोल बोकेको समूह, एउटै ड्रेस लगाएको समूह, एउटै एनजीओका समूह जस्ता विभिन्न समूहले संगठित रुपमा वितण्डा मच्चाएको, आगजनी र तोडफोड गरेको, लुट मच्चाएको तथ्य खुलेआम भइसक्दा पनि गृहमन्त्रीले हतियार संगठित गिरोहको हातमा नपुगेको दावी गर्नुको कारण के हो भनी उहाँहरुले प्रश्न उठाउनुभएको छ ।

गृहमन्त्रीलाई गिरोहको नाइकेजस्तो भएको उल्लेख गर्दै उहाँहरुले लेख्नुभएको छ— ‘लुटिएका हतियार राजनीतिक दलहरुले प्रयोग नगर्ने प्रतिवद्धता गर्नुपर्छ भन्ने तपाईंको अभिव्यक्ति घोर आपत्तिजनक छ । यसको अर्थ तपाईं सबै हतियार वरामद गर्ने पक्षमा हुनुहुन्न । भविष्यमा हिँसालाई अझ उक्साएर बरामद हतियारको बलमा दलहरुले नै हिँसा मच्चाएका हुन् भनेर आरोपित गर्ने तपार्इंको नियत त होइन ? हतियार बरामद गर्नुपर्ने जिम्मेवारीमा तपार्ई हुनुहुन्छ, बरामद गर्ने काम नगर्ने तर दलहरुलाई चाहिँ प्रयोग नगर्ने प्रतिवद्धता गर्नुपर्छ भन्ने तपाईंको अभिव्यक्ति गृहमन्त्रीको जस्तो भएन, गिरोहका नाइकेको जस्तो भयो ।’

एमालेका यी ६ जनाले गृहमन्त्रीलाई दिनहुँ पत्रकार सम्मेलन गरेर तथ्य सार्वजनिक गर्न चुनौती दिनुभएको छ । दिनहुँ पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नुपर्ने विवरण उहाँहरुले यसरी दिनुभएको छ—

१) २३ र २४ गतेको घटनाका अपराधी आजका दिन यति संख्यामा पक्राउ गरियो, यति विरुद्ध मुद्दा दायर गरियो भनी विवरण हरेक दिन सार्वजनिक गर्नुहोस् ।

२) लुटेका हातहतियार र गोलीगठ्ठा कति संख्यामा बरामद गरिन्छ, हरेक दिन विवरण सार्वजनिक गर्नुस्, त्यस्ता लुटेराहरुको विवरण पनि दैनिक पत्रकार सम्मेलनमा सार्वजनिक गर्नुस् ।

३) सरकारी तथा निजी घरहरुमा आगजनी गर्ने, लुटपाट गर्ने व्यक्तिहरु कति पक्राउ पर्छन्, हरेक दिन पत्रकार सम्मेलनमा सार्वजनिक गर्नुहोस् । कतिलाई मुद्दा चलाइन्छ त्यो पनि दिनहुँ सार्वजनिक गर्नुहोस् ।

४) समानान्तर सरकारको अभ्यास गर्न खोजिरहेका विभिन्न गिरोहहरुका नाइके र सदस्यलाई पक्राउ गरेर कारवाही गरिएको तथा उनीहरु विरुद्ध मुद्दा चलाइएको विवरण दिनहुँ सार्वजनिक गर्नुहोस् ।

छानविन आयोग तिर जिम्मेवारी सारेर अपराधी पक्रने र कारवाही गर्ने काममा वाधा नदिन पनि उहाँहरुले चेतावनी दिनुभएको छ ।

निवर्तमान प्रधानमन्त्री केपी ओलीलाई पक्रने भन्दै बारम्बार धम्की दिएको, धम्की दिएपछि गृहमन्त्रीले पक्रनका लागि बहाना खोजेको पनि उहाँहरुको आरोप छ ।


2.6k
Shares

प्रतिक्रिया दिनुहोस !