१९ माघ २०८२, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपालको सत्ता, हत्या र विदेशी खेलः गोविन्द थापाको कडा खुलासा

प्रकाशित मिति :  1 February, 2026 9:00 pm


दमक । भीमसेन थापाको अन्त्य किन भयो ? नारायणहिटी हत्याकाण्ड कसले गर्यो ? संसद् भवनमा गोलीकाण्ड कसले गरायो ? यी तीन भयानक हत्याकाण्डका बारेमा एमाले केन्द्रीय सदस्य गोविन्द थापाले नयाँ कोणबाट कुरा उठाउनुभएको छ ।

आमचुनावको इपिसेन्टर बनेको झापा ५ मा अगुवा कार्यकर्ता तथा जनता बीच बोल्दै थापाले व्रिटिश भारतलाई चुनौति दिएकै कारण भीमसेन थापाको दर्दनाक अन्त्य भएको बताउनुभयो । भीमसेन थापा, नारायणहिटी हत्याकाण्ड र संसद् भवन गोली काण्डलाई आपसमा जोडेर त्यसको विभिन्न पक्ष केलाउँदै थापाले भीमसेन थापाको नियतिमा केपी ओलीलाई पुराउन खोजिएको बताउनुभयो ।

भीमसेन थापाले व्रिटिश भारतलाई चुनौती दिएको इतिहासको चर्चा गर्दै आफूलाई चुनौती दिनेलाई समाप्त पार्ने व्रिटिश भारतको नीति अनुसार भीमसेन थापाको पतन गराइएको बताउनुभयो । भविष्यमा आफूलाई कसैले चुनौती दिने हिम्मत नगरुन्, आफूलाई चुनौती दिनेको अन्त्य यसरी हुन्छ भनेर उदाहरण देखाउने व्रिटिश भारतको उद्देश्य थियो, सो उद्देश्य अनुरुप भीमसेन थापाको अन्त्य गराइएको र लाश समेत गिद्दलाई खुवाइएको उहाँले बताउनुभयो ।

भारतलाई चुनौती दिएका कारण केपी ओलीलाई पनि भीमसेन थापाको नियतिमा पुराउन खोजिएको गोविन्दले बताउनुभयो । भीमसेन थापा र केपी ओलीको तुलना गरेपछि गोविन्दले राजा महेन्द्रको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो—
‘राजा महेन्द्रको मरण पनि स्वाभाविक थिएन् । महेन्द्रले भारतीय दवाब कहिले स्वीकार गरेनन्, नेपालको राष्ट्रिय स्वाभिमानको पक्षमा उभिए । त्यसैले महेन्द्रको अन्त्य गराइयो । भारतसँग टक्कर गर्ने राजाको त अन्त्य हुन्छ भने अरुको के कुरा भन्ने स्थापित गराउने, तर्साउने काम भयो ।’

पछिल्लो कालमा नेपालको राष्ट्रिय स्वाभिमानको पक्षमा केपी ओली उभिएको बताउँदै गोविन्दले भन्नुभयो— ‘केपी ओलीले भारतीय दवाब र थिचोमिचो सहनु भएन, चुनौती दिनुभयो । त्यसैले केपी ओलीलाई समाप्त पार्न निरन्तर प्रयास गरियो । केपी ओली भनेको राक्षस जस्तै हो भनेर प्रचार गरियो, त्यही रुपमा स्थापित गर्न खोजिँदैछ । भारतको विरुद्ध उभिने जो पनि समाप्त हुन्छ, भारत विरुद्ध उभिनेको हालत केपी ओलीको जस्तो हुन्छ भनेर दक्षिण एसियाभरी देखाउनका लागि अहिले ओली विरोधी अभियान चलाइएको छ ।’

नारायणहिटी हत्याकाण्डको चर्चा गर्दै गोविन्दले भन्नुभयो— ‘नेपाली दिमाग, नेपाली योजना, नेपाली षडयन्त्र अनुसार नारायणहिटी हत्याकाण्ड भएको होइन भन्नेमा शतप्रतिशत नेपाली सहमत होलान् । त्यो हत्याकाण्ड नेपाललाई समाप्त पार्ने उद्देश्यले गरिएको थियो । हत्याकाण्डपछि नेपाल दिर्घकालीन अस्थिरतामा फस्यो ।’

भीमसेन थापाको पतन र नारायणहिटी हत्याकाण्ड, बानेश्वर संसद् भवन गोली काण्ड नेपालको इतिहासका मुख्य तीन दुर्दान्त हत्याकाण्ड भएको उहाँको दावी थियो । संसद् भवन गोलीकाण्ड र नारायणहिटी हत्याकाण्ड दुवै अत्यन्त रहस्यमय भएको चर्चा गर्दै थापाले भन्नुभयो— ‘जेन्जी भाइबहिनीले आन्दोलन सकियो भनेर घोषणा गरेपछि आन्दोलनकै भीडभित्रबाट रहस्यमय जत्था प्रकट भयो, त्यसले नयाँ बानेश्वर चोकमा उत्तेजना सिर्जना गर्यो । फिल्ममा झैं अनौठोसँग एउटा भीड संसद् भवनमा आक्रमण गर्न अगाडि सर्यो ।’

संसद् भवन गोलीकाण्डको विविध पक्षको चर्चा गर्दै गोविन्दले भन्नुभयो— ‘त्यसबेलाको भिडियो हेर्नुहोस्, संसद् भवन आक्रमण गर्न अगाडि बढेको जत्था पर्खाल चढ्छ, पर्खाल भत्काउँछ, उनीहरु तालिमप्राप्त व्यक्ति हुन् भन्ने त्यो भिडियो हेर्दा पनि प्रष्ट हुन्छ । तालिमप्राप्त जत्थाले पर्खाल भत्काएर सर्वसाधारण र निर्दाेष जेन्जी भाइबहिनीहरुलाई संसद् भवन क्षेत्रमा प्रवेश गराउन उत्तेजित बनाउँछ । उत्तेजित भीडले आक्रमण गरेपछि सुरक्षाकर्मीले गोली चलाउँछ । सम्पूर्ण षडयन्त्र गोलीकाण्ड गराउने, हत्याकाण्ड गराउने नियतले भएको थियो भन्ने प्रष्ट छ । त्यसबेलाका भिडियोहरु नियालेर गम्भीरतापूर्वक हेर्नुहोस्, उनीहरुले कति ठूलो षडयन्त्र गरेका थिए भन्ने प्रष्ट हुन्छ ।’

संसद् भवन गोलीकाण्ड उर्फ हत्याकाण्ड भएपछि केके भयो ? यो बारेमा पनि गोविन्द थापाले खुलेर नयाँ कोणबाट बताउनुभएको छ । उहाँले भन्नुभयो— ‘फिल्मको कथा अगाडि नै लेखेर त्यही अनुसार सुटिङ गरिन्छ । अर्थात् स्क्रिप्टेड हुन्छ । त्यसैगरी संसद् भवन गोलीकाण्ड र त्यसपछिका घटनक्रम पनि स्क्रिप्टेड भएको प्रष्ट छ ।’

नेपालमा राष्ट्रवादी नेताहरुलाई विदेशीले नेपालीलाई नै उचालेर दण्डित गर्ने गरेको इतिहासबारे चर्चा गर्दै गोविन्दले भन्नुभयो— ‘भीमसेन थापालाई जसरी, राजा महेन्द्रलाई जसरी, राजा बीरेन्द्रको परिवारलाई जसरी केपी ओलीलाई विदेशीले दण्डित गर्न खोज्दैछन् । केपी ओलीलाई समाप्त पार्न सके भने भारतीय थिचोमिचो र दवाब विरुद्ध उभिने हिम्मत गर्ने नेता ५० वर्षसम्म नेपालले पाउन सक्ने छैन । किनभने भारतको विरोध गर्दा केपी ओलीको हालत हुन्छ भन्ने डर सबैलाई हुनेछ । केपी ओलीलाई समाप्त पारेर देशभक्त सबै नेपालीलाई तर्साउने प्रयास गरिएको हो ।’

मन्तव्यको क्रममा आफ्नो निष्कर्ष सुनाउँदै गोविन्द थापाले भन्नुभयो— ‘त्यसैले केपी ओलीलाई समाप्त पार्न दिइँदैन, नेपाल देशको स्वतन्त्रता र स्वाभिमान समाप्त पार्न दिइँदैन ।’


226
Shares

प्रतिक्रिया दिनुहोस !