४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सगरमाथा आरोहणमा ४२ समूहलाई अनुमति

प्रकाशित मिति :  १४ बैशाख २०७८, मंगलवार १२:२२


काठमाडाैं । सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि ४२ आरोही समूहका तीन सय ९४ जनाले आरोहण अनुमति लिएका छन् ।

यो सङ्ख्या सन् २०१९ को वसन्त यामको भन्दा बढी हो । उक्त वर्षको वसन्त याममा सगरमाथा आरोहणका लागि ४१ आरोही समूहले आरोहण अनुमति लिएका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतका पर्यटन विभागले हालसम्म जारी गरेको पर्मिटमा सगरमाथाका लागि सर्वाधिक ४२ आरोही समूह छन् । अझै केही दिन आरोही आउने भएकाले यो सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

विभागका अनुसार सगरमाथाका लागि ४२ सहित ८२ आरोही समूहका सात सय २३ आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथापछि सबैभन्दा बढी ल्होत्से हिमाल आरोहणका लागि १३ आरोही समूह छन् । धौलागिरिमा पाँच र अन्नपूर्ण हिमालमा आठ आरोही समूहले आरोहणको अनुमति पाएका छन् ।

कोभिड–१९ महामारीकाबीच सञ्चालन भइरहेको पर्वतारोहणका लागि सात सय भन्दा बढी विदेशीको आगमनले मुलुकको पर्वतीय पर्यटन सुरक्षित रहेको सकारात्मक सन्देश विश्वभर प्रवाह गरेको विभागको बुझाइ छ । विभागका निर्देशक मीरा आचार्यले अहिलेको असहज परिस्थितिमा पनि उल्लेख्य सङ्ख्यामा विदेशी हिमाल आरोहणमा आउनुले विश्व पर्यटन बजारमा सकारात्मक सन्देश गएको बताउनुभयो । उहाँले नेपालका आठ हजार मिटर अग्ला हिमाल आरोहणमा धेरै सङ्ख्यामा विदेशीको आगमनले पर्वतीय पर्यटनमा उत्साह जगाएको उल्लेख गर्नुभयो ।

वसन्त यामको आरोहणमा अझै आरोही बढ्ने विभागको अनुमान छ । अप्रिल महिनाभर आरोही आउने भएकाले विभागले धमाधम पर्मिट जारी गरिरहेको छ । नेपाल सरकारले हिमाल आरोहणका लागि तीन सय ६५ दिननै आरोहण खुला राखेकाले पर्वतारोहणमा उत्साहका साथ आरोहीको आकर्षण बढ्ने जनाइएको छ ।

मे पहिलो सातादेखि सगरमाथा आरोहण

सगरमाथाको चुचुरोसम्म बाटो बनाउने आइसफल डाक्टर अहिले सगरमाथाको क्याम्प चारमा पुगिसकेका छन् । मौसमले साथ दिएमा सगरमाथा आरोहण आगामी मे पहिलो साताबाट शुरु हुने विभागको अनुमान छ । ‘डोरी टाँग्ने टोली अहिले सगरमाथाको क्याम्प चारमा पुगेको छ । मौसमले साथ दिए सगरमाथा आरोहण यसै हप्ताबाट हुन्छ । सकेसम्म मे पहिलो सातामा सगरमाथाको चुचुरोमा डोरी टाँगेर आरोहण सुरु गर्ने योजनामा छ’, विभागका निर्देशक आचार्यले भन्नुभयो ।

कोभिड महामारीका कारण सन् २०२० को वसन्त ऋतुको आरोहण स्थगित भएको थियो । सन् २०१९ को वसन्त ऋतुको आरोहण वैशाख ३१ गतेदेखि शुरु भएको थियो । त्यस्तै सन् २०१८ को वसन्त आरोहणमा पनि वैशाख ३१ गतेदेखि सगरमाथा आरोहण सुरु भएको थियो । वसन्त यामको हिमाल आरोहणबाट हालसम्म रु ५३ करोडभन्दा बढी रोयल्टी संकलन भएको विभागको पर्वतारोहण शाखाले जनाएको छ ।

रोयल्टी जम्मा भएका हिसाबले पनि सन् २०२१ को वसन्त आरोहण उत्साहवद्र्धक देखिएको छ । सन् २०१९ मा वसन्त यामको आरोहणबाट ५१ करोड रुपैयाँ रोयल्टी जम्मा भएको थियो ।

-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !