४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आइसीयू र भेन्टिलेटरसहितको आइसोलेशन तयार

प्रकाशित मिति :  १५ बैशाख २०७८, बुधबार ०४:४८


लहान । बढ्दो कोरोना संक्रमणलाई दृष्टिगत गरी सिरहामा २६ शय्याको आइसोलेशन तयार पारिएको छ ।

जिल्ला अस्पताल सिरहाको मातहतमा रहने गरी सदरमुकाम सिरहामा तत्कालका लागि २६ शय्याको आइसोलेशन शय्या तयार पारिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले जानकारी दिनुभयो । बढ्दो कोरोना सङ्क्रमणको ग्राफलाई मध्यनजर गरी बजेट अभावका बाबजुद सिरहामा अक्सिजन प्लान्टसहित पाँच आइसीयू शय्या र दुई भेन्टिलेटरसमेत गरी २६ आइसोलेशन शय्या तयारी अवस्थामा राखिएको प्रजिअ कँणेलले बताउनुभयो ।

यस्तै भारतीय सीमावर्ती क्षेत्र सिरहाको माडरमा होल्डिङ सेन्टर स्थापनाका लागि स्थानीय तहबाट रु एक÷एक लाख आर्थिक सहयोगको आश्वासन आएकाले होल्डिङ सेन्टर स्थापनाको तयारी गरिएको उहाँको भनाइ छ । कोरोना सङ्क्रमण तीव्रगतिमा फैलिन थाले पनि प्रदेश सरकारले बजेट उपलब्ध नगराउँदा थप आइसोलेशन शय्या थप्नेलगायत अपेक्षाकृतरूपमा पूर्वतयारीको काम गर्न नसकिरहेको प्रजिअ कँणेलले बताउनुभयो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसिएमसी)को बैठकले विभिन्न शीर्षकमा प्रदेश सरकारसँग ४७ लाख रुपैयाँ माग गर्ने निर्णय गरी पठाए पनि हालसम्म बजेट प्राप्त नहुँदा समस्या भएको प्रजिअ कँणेलले जानकारी दिनुभयो । डिसीसिएमसीले जोखिम न्यूनीकरणका लागि २० लाख रुपैयाँ, सिआइसिटी मोबिलाइजेशन शीर्षकमा १० लाख रुपैयाँ, अत्यावश्यक औषधि खरिद गर्न २० लाख रुपैयाँ र एम्बुलेन्स तथा शववाहन परिचालन गर्न रु सात लाख प्रदेश सरकारसँग माग गरेको जनाएको छ ।

स्थानीय तहलाई आवश्यक पर्ने औषधि, जनशक्ति, सामग्री र स्वास्थ्य उपकरणको पर्याप्त बन्दोबस्त मिलाउनसमेत निर्देशन दिएको उहाँको भनाइ छ । सिरहामा हाल १२ नयाँ कोरोना सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।

तीमध्ये छ जनाको जिल्ला अस्पताल सिरहास्थित आइसोलेसनमा उपचार भइरहेको छ ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !