४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

ओखलढुंगामा पाइप बम फेला, नेपाली सेनाद्वारा डिस्पोज

प्रकाशित मिति :  १६ बैशाख २०७८, बिहीबार ०७:१२


ओखलढुङ्गा । खिजीदेम्बा गाउँपालिकाको वडा नम्बर ७ र ८ को सिमानामा पर्ने गुन्छा खोलामा पाइप बम फेला परको हो ।

घाँस काट्न जाँदा शंकास्पद वस्तु देखेपछि स्थानीयवासीले प्रहरी चौकी रावादोलुमा खबर गरेका थिए । बम भेटिएको खबर आएपछि प्रहरी चौकी रावादोलुबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरेर प्लास्टिकले बेरेको अवस्थामा पाइप बम एक थान र अन्य दुई थान शंकास्पद वस्तु पहिचान गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक शिव कट्टेलले जानकारी दिनुभयो ।

जिल्लाबाट प्रहरी निरीक्षक लंकबहादुर श्रेष्ठको कमाण्डमा पाँच प्रहरी र अरिदमन गण ओखलढुङ्गाबाट क्याप्टेन फत्तनारायण श्रेष्ठको कमाण्डमा गएको नौ जनाको डिस्पोजल टोलीले उक्त बम डिस्पोज गरेको छ । ‘निकै पुरानो बम रहेछ । शुरुमा डिस्पोज गर्न समस्या भयो, पछि त्यो क्षेत्रमा एउटा तरंग दिनेगरि पड्कियो ।

सायद द्वन्द्वको समयमा राखिएको बम हो । यत्तिको शक्तिशाली बम त्यो बेला मात्रै राखिन्थ्यो’, प्रहरी निरीक्षक श्रेष्ठले भन्नुभयो, ‘यत्तिका दिन सम्म किन देखिएन, फेरि बाहिरै देखियो ।

त्यो क्षेत्रमा अरु पनि हुन सक्छन् । सतर्क रहन आवश्यक देखियो ।’ कतै त्यस्तो शंकास्पद वस्तु देखेमा नचलाई, नछोई तत्काल प्रहरीलाई खबर गर्न जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले आग्रह गरेको छ ।

तत्कालीन माओवादीले द्वेन्द्वको समयमा आधार इलाका राखेको खिजीदेम्बामा बेवारिसे विस्फोटक पदार्थ फेला पर्ने क्रम रोकिएको छैन ।

द्वन्द्वकाल अन्त्य भएको लामो समय  भइसक्दा पनि विस्फोटक पदार्थ फेला पर्ने क्रम नरोकिँदा स्थानीयवासी त्रासमा छन् ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !