१४ कार्तिक २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

गण्डकी प्रदेशको घटना अस्वभाविक – राष्ट्रिय जनमोर्चा

प्रकाशित मिति :  १६ बैशाख २०७८, बिहीबार ०७:२२


काठमाडौं । गण्डकी प्रदेश सभामा बुधबार भएको घटना अस्वभाविक रहेको राष्ट्रिय जनमोर्चा (राजमो) ले जनाएको छ ।

पार्टी उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलल सोमबार विज्ञप्ति निकालेर सो कुरा उल्लेख गर्नुभएको हो । प्रदेश सरकार विरुद्धको अविश्वास प्रस्तावमाथि मतदान गर्ने समयमा सांसद् खिमविक्रम शाही अनुपस्थित हुनुलाई रहस्यमय र अस्वभाविक भएको विज्ञप्तिमा उल्लेख छ ।

मतदानको समयमा प्रदेश सभामा अनुपस्थित भइ कोभिड संक्रमण भएर शाही अस्पताल भर्ना भएको भन्ने घटना शंकास्पद भएको विज्ञप्तिमा उल्लेख छ । ‘सरकारी प्रयोगशालामा जाँच गर्दा नेगेटिभ रिपोर्ट आएको व्यक्तिलाई अकस्मात कसरी पोजेटिभ आयो ? त्यो कुरा बुझ्न हामी असमर्थ छौँ’– विज्ञप्तिमा लेखिएको छ ।

अस्पतालमा उहाँसँग कसैलाई पनि भेट्न नदिएको उल्लेख गर्दै पौडेलले शाहीको स्थिति सार्वजनिक गर्न सरकारसँग माग गर्नुभएको छ । दुर्गाले लेख्नुभएको छ – ‘उहाँलाई एक प्रकारको बन्दीको रुपमा किन राखियो र त्यसको कारण के हो ?’

सदनको कामलाई सामान्य रुपमा सञ्चालन गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । शाहीबारे थप सूचना प्राप्त भएपछि थप कुरा सार्वजनिक गर्ने जनमोर्चाले जनाएको छ । गण्डकी प्रदेश सभाको गतिविधिबारे अनेक प्रश्न उठेका र त्यसमा जनमोर्चा समेत जोडिएकाले विज्ञप्ति जारी गर्नु परेको दुर्गाले लेख्नुभएको छ ।

गण्डकी प्रदेश सभामा बुधवार सरकार विरुद्ध अविश्वास प्रस्तावमाथि मतदान हुने बेला जनमोर्चासांसद् शाही अनुपस्थित हुनुभएको थियो । उहाँ अनुपस्थित भएपछि सरकार विरुद्धको अविश्वास प्रस्ताव पास गर्न आवश्यक मत नपुग्ने देखियो । त्यसपछि सभामुखले पूर्वाग्रह राखेर बैठक स्थगित गर्नुभएको थियो । सभामुखको सो कदममो चौतर्फी आलोचना भएको छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !