४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

झापाका पत्रकार र प्रदेशसभा सदस्यलाई कोभिड

प्रकाशित मिति :  १६ बैशाख २०७८, बिहीबार ०८:३०


झापा । तीन पत्रकार र एक प्रदेशसभा सदस्य कोभिड–१९ बाट संक्रमित हुनुभएको छ ।

नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीका अनुसार पत्रकारहरु पुष्प बराल, नरेन्द्र ढकाल र वीरबहादुर दर्नाललाई कोभिड संक्रमण पुष्टि भएको हो ।

झापा क्षेत्र नं १ का प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकीलाई पनि कोरोना संक्रमण भएको छ । संक्रमित चारै जना हाल चिकित्सकसँगको सल्लाहमा होम आइसोलेसनमा रहनुभएको छ ।

राजधानीबाट झापा ल्याइँदै कोभिड संक्रमित

कोभिड–१९ बाट संक्रमित बिरामीलाई बेडसिफ्ट गरेर उपचारका लागि काठमाडौंबाट मोफसल ल्याउन थालिएको छ । काठमाडौंमा संक्रमित हुनुभएका नरप्रसाद उप्रेतीलार्ई हेलिकप्टरमार्फत उपचारका लागि झापा ल्याइएको हो । काठमाडौंको ह्याम्स हस्पिटलबाट बेडसिफ्ट गरेर सिम्रिक एयरको हेलिकप्टरबाट बुधबार अपराह्न ५ः४५ बजेतिर उहाँलाई बिर्तामोडको बीएन्डसी अस्पतालमा ल्याइएको हो ।

अस्तपतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले काठमाडौंमा संक्रमितको चाप बढेपछि उप्रेतीलाई बेडसिफ्ट गरिएको परिवारका सदस्यको भनाइ उद्धृत गर्दै बताउनुभयो । झापाको शिवसताक्षी नगरपालिका–८ स्थायी घर भए पनि उप्रेती काठमाडौंमा बस्दै आउनुभएको थियो । उहाँलाई आइसीयुमा राखेर उपचार थालिएको गिरीले जानकारी दिनुभयो ।

बीएन्डसी अस्पतालमा हाल कोभिडको उपचारका लागि २५ शय्याको छुट्टै आइसोलेसन वार्ड संचालनमा छ । अहिले पाँच कोभिड–१९ का संक्रमितको उपचार भइरहेको छ । बिरामीको चाप बढेमा आइसोलेसनको क्षमता बढाइने गिरीले बताउनुभयो ।

‘राजधानीमा सङ्क्रमितको चाप यति बढ्दै गएको छ कि शय्या पाउन पनि मुस्किल हुँदै गएको अवस्था छ’, गिरीले भन्नुभयो, ‘बीएन्डसीमा कोरोनासंक्रमित र अरु बिरामीलाई सुरक्षित उपचार गर्न भिन्नाभिन्नै ब्लक संचालनमा ल्याएका छौं । काठमाडौंबाट अरु संक्रमितले समेत बेडसिफ्ट गरेर आउनका लागि सम्पर्क गरिरहनु भएको छ ।”

पालोमा सेवा दिन अनुगमन टोलीको आग्रह

झापाको दमकस्थित कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिले बुधबार सरकारी कार्यालयहरुको अनुगमन गरी पालोमा सेवा प्रवाह गर्न सुझाव दिएको छ । दमक नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश न्यौपानेको नेतृत्वमा रहेको अनुगमन टोलीले मालपोत कार्यालय, नापी कार्यालय, गोरखा डिपार्टमेन्ट स्टोर, एनएमबी बैंकलगायतमा अनुगमन गरेको थियो ।

सेवाग्राहीको भीडभाड हुँदा कोरोनाको संक्रमण फैलिने जोखिम भएको जनाउँदै अनुगमन टोलीले मालपोत र नापी कार्यालयलाई तत्कालै क्षेत्रगत पालो प्रणाली लागू गरेर सेवा प्रवाहित गर्न आग्रह गरेको छ ।

झापामा तत्काल निषेधाज्ञा नहुने

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले झापामा तत्कालै निषेधाज्ञा जारी नहुने बताउनुभएको छ । पूर्वीनाका काँकडभिट्टामा बुधबार सीमाको सुरक्षा व्यवस्था र कोभिड–१९ को नियन्त्रण प्रयासलाई प्रभावकारी तुल्याउने विषयमा सरोकारवालासँगको छलफल कार्यक्रममा उहाँले निषेधाज्ञा जारी नहुने बताउनुभएको हो ।

जिल्लामा हालसम्म कोभिड–१९ का एक सय ९४ सक्रिय संक्रमित रहेको हुँदा यसलाई कम गर्दै लैजानका लागि स्वास्थ्य सुरक्षाको मापदण्ड र सरकारी निर्देशनलाई कडाइका साथ पालना गरिनु पर्ने प्रजिअ तिम्सिनाको भनाइ थियो ।

उहाँले तराईमा पाँच सय  र पहाडमा २०० कोरोना संक्रमितको संख्या पुगेपछि मात्र निषेधाज्ञा जारी गर्न बाध्य हुनुपर्ने कानूनी व्यवस्था प्रष्ट पार्दै हाल झापामा त्यस्तो अवस्था नरहेको बताउनुभयो ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !