४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

संक्रमित भएर पनि संक्रमितको उपचारमा खटिए स्वास्थ्यकर्मी

प्रकाशित मिति :  १६ बैशाख २०७८, बिहीबार ०८:३८


राँझा । कोरोना संक्रमितको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा कार्यरत ७३ स्वास्थ्यकर्मी र कर्मचारी संक्रमित हुन पुगेका छन् ।

कोभिड–१९ को दोस्रो लहरसँगै अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीमा पनि यसको संक्रमण उल्लेख्यरूपमा देखापरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार यही वैशाख एक गतेदेखि आजसम्म ७३ स्वास्थ्यकर्मी र कर्मचारीमा संक्रमण पुष्टि भएको छ । नर्सिङ स्टाफ ३३, चिकित्सक आठ, प्यारामेडिक्स आठ, सहायक कर्मचारी २२ र प्रशासनसँग आबद्ध दुई गरी अहिलेसम्म ७३ जना सङ्क्रमित भएका छन् ।

कैयौँ नर्सिङ स्टाफ संक्रमित भएर पनि आफूजस्तै संक्रमितको उपचारमा खटिएका छन् । आफ्नो ज्यानको बाजी लगाएर पनि बिरामीको सेवामा अहोरात्र खटिएका सबै कर्मचारीप्रति अस्पतालले आभार प्रकट गरेको छ ।

भेरी अस्पतालमा जनशक्तिको कमी हुँदा सङ्क्रमित स्वास्थ्यकर्मी पनि उपचारमा खटिनुपरेको हो । करिब १० स्टाफ नर्स आफैँ संक्रमित भएर पनि अरु बिरामीको उपचारमा खटिएको अस्पतालका प्रमुख डा. थापाको भनाइ छ ।

सो अस्पतालमा कोरोना बिरामीका लागि एक सय ४२ श्यया छुट्याइएकामा संक्रमितको चाँपसँगै त्यसलाई बढाइएको छ । अहिले भेरीमा दुई सय १२  बिरामी छन् ।

श्यया बढ्दै जाने, स्वास्थ्यकर्मी नबढ्ने र भएका पनि संक्रमित भएपछि समस्या भएको छ । पाँच स्टाफ नर्सले सय जनासम्म बिरामी हेर्नुपर्ने बाध्यता रहेको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बताउनुभयो ।

उहाँका अनुसार दुई दिनअघि भेरीले जनशक्ति करारमा नियुक्ति गर्ने अधिकार पाएको छ । अस्पतालले ६० कर्मचारी आह्वान गरेको छ । अस्पतालले एनेस्थेसियोलोजिस्ट तीन, मेडिकल अधिकृत १०, नर्सिङ अधिकृत दुई, ल्याब टेक्निसियन पाँच र स्टाफ नर्स ४० जना करारमा माग गरेको छ ।

ज्यान गुमाउनेकाे सङ्ख्या सय नाघ्यो

बाँकेमा कोरोना संक्रमणका कारण सय भन्दा बढीको ज्यान गएको छ । कोरोना संक्रमित भई बाँकेका अस्पतालमा भर्ना भएका थप ६ जनाको उपचारका क्रममा ज्यान गएकाे छ । ज्यान गुमाउनेमा नेपालगञ्ज, कोहलपुर र बर्दिया बढैयाताल गाउँपालिका निवासी छन् ।

गए राति नाै बजे देखि बिहान ५ बजेसम्मको अवधिमा भेरी अस्पताल नेपालगञ्ज र नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा गरी ६ संक्रमितको ज्यान गएकाे कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यही वैशाख १२ गते पिसिआर जाँच गर्दा कोरोना पोजिटिभ रिपोर्ट आएपछि वैशाख १५ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना हुनुभएकी नेपालगञ्ज उपमहानगरपालिका वडा नं १३ निवासी ५८ वर्षीया महिलाको गए राति नाै बजे ज्यान गएकाे हाे ।

यसैगरी भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज–४ निवासी ६० वर्षीय पुरुष र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत कोहलपुर नगरपालिका–११ निवासी ४३ वर्षीया महिलाको गए राति करिव नाै बजे नै ज्यान गएकाे थियोे ।

यसैगरी भेरी अस्पतालमा नेपालगञ्ज–९ निवासी ४२ वर्षीय पुरुषको राति १० बजे निधन भएको छ भने बढैयाताल गाउँपालिका–८ निवासी ३२ वर्षीय पुरुषको भेरी अस्तालमै उपचारका क्रममा आज बिहान साडे एक बजे ज्यान गएकाे छ ।

पछिल्लो पटक शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज–५ निवासी ५५ वर्षीय पुरुषको बिहान ५ः३० बजे ज्यान गएको स्रोत व्यक्ति वलीले बताउनुभयो ।

यससँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या एक सय ६ पुगेको छ भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा उपचारकै क्रममा हालसम्म एक सय नाै जनाको ज्यान गएकाे छ ।

-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !