बिरामी भएरै अस्पताल पुगेको हूँ – खिमविक्रम शाही
काठमाडौं । गण्डकी प्रदेश सभामा बुधवार भएको घटनाको सत्यतथ्य खुल्न थालेको छ ।
गण्डकी प्रदेश सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि मतदान हुने समयमा वेपत्ता हुनुभएका भनिएमा सांसद् खिमविक्रम शाहीले सत्यतथ्य सार्वजनिक गर्नुभएको हाे ।
आफू बिरामी भएका कारण अस्पताल गएको शाहीले बिहीबार विज्ञप्ति निकालेर जानकारी दिनुभएको छ । ठिक भएर फर्केपछि आफूबारे उठाएका प्रश्नकाे उत्तर दिने पनि उहाँले उल्लेख गर्नुभएकाे छ ।
प्रदेश सभा बैठकमा जाने तयारी गरिरहेकै बेला बिरामी भएकाले उपस्थित हुन नसकेको शाहीले स्पष्ट पार्नुभएको छ । उहाँले लेख्नुभएको छ –‘सदनमा जाने भनि तयारी अवस्थामा रहेको बेला अचानक बिरामी भई मेरो आफ्नै भाइलाई सम्पर्क गरेर आफ्नो स्वास्थ्य उपचारका लागि अस्पताल लैजाने क्रममा म बेहोस भएँछु, म अहिले उपचाररत छु, हाल मेरो स्वास्थ्यमा क्रमिक सुधार आएको महसुस गरेको छु, म थप स्वस्थ भए पछि मेरो बारेमा उठेका कयौं प्रश्नको बारेमा स्पष्ट गर्ने नै छु ।’ आफूबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका खबरका आधारमा धारणा नबनाउन पनि शाहीले विज्ञप्तिमार्फत अनुरोध गर्नुभएको छ ।
पार्टी र संसदीय दलको बैठकले गरेका निर्णयमा आफू पनि सहभागी भएको र ती निर्णयमा आफ्नो सहमति कायम रहेको शाहीले उल्लेख गर्नुभएको छ । उहाँले लेख्नुभएको छ – ‘पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा मेरो पनि सहभागिता रहेका कारण ती निर्णयहरूप्रति मेरो पनि सहमति रहेकाले त्यस विषयमा पार्टी निर्णयप्रति प्रतिबद्वता कायमै छ ।’
यस्तो थियो घटना
बुधबार बसेको प्रदेश सभा बैठकमा राष्ट्रिय जनमोर्चाका सांसद् खिमविक्रम शाही उपस्थित हुनुभएन । सोही विषयलाई लिएर पूर्वाग्राही बन्दै सभामु नेत्रनाथ अधिकारीले प्रदेश सभा बैठक नै स्थगित गर्नुभयो । अविश्वास प्रस्ताव फेल हुने देखेपछि सभामुखले जानी जानी बैठक रोकेको एमालेको आरोप छ ।
जनमोर्चाकी सांसद् पियारी थापाले त शाही वेपत्ता हुनुभएको भनेर प्रदेश सभामा निवेदन नै दिनुभयो । उहाँकै निवेदनका आधारमा सभामुख अधिकारीले प्रदेश सभा बैठक स्थगित गर्नुभयो ।
शाही अनुपस्थित भएपछि सरकार विरुद्धको अविश्वास प्रस्ताव पास गर्न आवश्यक मत नपुग्ने देखियो । त्यसपछि सभामुखले पूर्वाग्रह राखेर बैठक स्थगित गर्नुभएको थियो । सभामुखको सो कदममो चौतर्फी आलोचना भएको छ ।
शाहीलाई एमालेले अपहरण गरेको भनेर जनमोर्चाकी सांसद् पियारी थापासहित कांग्रेस र माओवादीले आरोप समेत लगाएका छन् । जनमोर्चा केन्द्रले समेत विज्ञप्ति निकालेर सो घटना अस्वभाविक भएको उल्लेख गरेको छ ।
त्यसो त गण्डकीको विषयमा जनमोर्चा केन्द्र एकातिर प्रदेश अर्कातिर छ । संसदीय दलका नेता कृष्ण थापाले समेत सरकार विरुद्ध अविश्वासको प्रस्तावमा मतदान गर्ने पार्टी निर्णयप्रति असहमति जनाउँदै आउनुभएको छ । तर केन्द्रको निर्णय मान्नुपर्ने वाध्यता रहेको पनि उहाँले बताउनुभएको छ ।
गण्डकी प्रदेश सभामा जनमोर्चाका ३ जना सांसद् छन् । तीमध्ये बुधबारको बैठकमा शाही अनुपस्थित हुनुभयो । आफ्नो पक्षमा निर्णय नआउने देखेपछि सभामुखले बुधवारको बैठक स्थगित गर्नुभएको थापाले बताउनुभएको छ ।
स्वतन्त्र सांसद् राजिव गुरुङ पनि बुधबार बसेको प्रदेश सभा बैठकमा उपस्थित हुनुभएन ।
-आइएनए न्युज एजेन्सी