४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

संक्रमित बढ्दा सेती अस्पतालमा साधन स्रोतको अभाव

प्रकाशित मिति :  १६ बैशाख २०७८, बिहीबार १०:२०


सुदूरपश्चिम । कोरोना संक्रमित बिरामी बढ्दै गएपछि सुदूरपश्चिम प्रदेशका सेती प्रादेशिक अस्पताल धनगढी र महाकाली अस्पताल महेन्द्रनगरमा शय्या र दक्ष जनशक्तिलगायत स्रोत साधनको अभाव देखिन थालेको छ ।

महाकाली अस्पतालमा शंकास्पदको नमूना परीक्षण गर्न आवश्यक पर्ने कीटको अभावसमेत देखिएको छ । कीट अभाव हुँदा कन्ट्याक्ट ट्रेसिङ र एन्टिजेन परीक्षणको काम गर्न समस्या भइरहेको प्रमुख जिल्ला अधिकारी राजकुमार महतोले बताउनुभयो ।’

५० शय्याको महाकाली अस्पताल र सय शय्याको अर्को एक अस्पताल संक्रमित बिरामीले भरिएका छन्’, उहाँले भन्नुभयो, ‘महाकाली अस्पतालमा नमूना परीक्षण गर्ने पिसिआर मेसिन अपर्याप्त भएको र अवश्यक जनशक्तिसमेत नहुँदा समस्या भइरहेको छ ।’ सो अस्पतालमा एउटा पिसिआर मेसिन सञ्चालनमा छन् ।

प्रदेशको रेफरल अस्पतालका रुपमा रहेको सेती प्रादेशिक अस्पताल धनगढीका आकस्मिक बाहेकका सबै सेवा आजबाट बन्द गरिएको छ । अस्पतालमा कोभिड–१९ का बिरामीका लागि व्यवस्था गरिएका ५५ शय्या मध्ये ५२ शय्या संक्रमित बिरामीले भरिएका छन् ।

कोरोना संक्रमितको नमूना परीक्षण गर्ने यो अस्पातालका दुई पिसिआर मेसिनमध्ये एक मेसिन मात्र सञ्चालन छन् । अहिलेकै अवस्थामा कोरोनाको संक्रमण दर बढ्दै जाँदा अस्पतालमा शय्या, जनशक्ति र अक्सिजनको अभाव हुने सम्भावना रहेको अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अक्सिजन, शय्या र जनशक्ति अभाव हुन नदिन निरन्तर पहल गरिरहेका छौं ।’

अस्पतालमा कोरोना संक्रमितमध्ये आठ जनालाई सघन उपचार कक्षमा र तीन जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ भने २३ जनालाई अक्सिजन दिएर तथा बाँकीलाई मोड्रेटमा राखेर उपचार भइरहेको बताइएको छ ।

कोरोना भाइरसको संक्रमण रोकथामका लागि सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा आज विहान ६ बजेबाट राति १२ बजेसम्म निषेधाज्ञा लागू गरिएको छ ।

कोरोनाको संक्रमण दर गुणात्मक रुपमा बढेपछि यसको ‘चेन ब्रेक’ गर्न निषेधाज्ञा लागू गरिएको हो । निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा भने सुचारु हुने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो ।

स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार दुई दिनमा मात्रै शंकास्पद एक हजार ५४ जनाको नमूना परीक्षण गर्दा पाँच सय ७२ मा कोरोना भाइरस संक्रमण देखिएको छ ।

पछिल्लो हप्तामा कारोनाका जटिल अवस्थाका बिरामी ह्वात्तै बढ्दा बिरामीको उपचार व्यवस्थापन गर्न गराउन अन्योल थपिएको छ ।  सुदूरपश्चिममा सक्रिय संक्रमित बिरामीको संख्या एक हजार एक सय ७६ पुगेका छन् ।

तीमध्ये सबैभन्दा बढी कैलालीका ६ सय ४६ जना रहेका छन् । सीमानाका हुँदै भित्रिनेमा ज्वरो भए नभएको जाँच गरी शंकास्पद देखिने व्यक्तिको मात्र एन्टिजेन परीक्षण गर्ने गरिएकोमा पछिल्ला दिनमा सबै व्यक्तिको परीक्षण गर्ने गरिएको छ ।

भारतमा पछिल्ला हप्तामा कोरोना भाइरसको संक्रमण र मृत्यु दर बढ्दै गएसँगै सुदूरपश्चिम प्रदेशमा पनि यो रोगको संक्रमण दर पछिल्ला दिनमा उकालो लागेको छ । भारतवाट फर्किनेहरुवाट नै समुदायमा यो रोगको संक्रमण बढी देखिएको बताइएको छ ।

कैलालीलाई यो प्रदेशकै कोरोना भाइरस संक्रमणको उच्च जोखिम जिल्लाका रुपमा लिइएको छ ।

दुई संक्रमितको ज्यान गयाे

प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका कैलालीको घोडाघोडी नगरपालिका–१० का ६० वर्षीय पुरूष र लम्कीचुहा नगरपालिका–२ का ३३ वर्षीय पुरूषको ज्यान गएकाे हाे ।

निर्देशनालयका अनुसार बुधबार अस्पताल भर्ना भएका घोडाघोडीका संक्रमितको आइसीयूमा उपचार भइरहेको थियो ।

श्वासप्रश्वाससम्बन्धी समस्याले ग्रस्त उहाँलाई निमोनियासमेत भएको थियो । लम्कीचुहाका संक्रमित वैशाख १४ गते अस्पताल भर्ना भएका थिए ।

उनमा पनि निमोनिया रहेको अस्पतालले जनाएको छ ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !