१० मंसिर २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

गण्डकीमा अविश्वास प्रस्ताव ल्याएका दलहरुबीच छलफल

प्रकाशित मिति :  १६ बैशाख २०७८, बिहीबार १०:४६


काठमाडौं । प्रदेश सभामुख नेत्रनाथ अधिकारीका कारण गण्डकी प्रदेश सभा बैठक अनिर्णयको बन्दी बनेको छ ।

सरकार विरुद्धको अविश्वास प्रस्तावमाथि मतदान हुने समयमा सभामुखले प्रदेश सभा बैठक स्थगित गर्नुभएको थियो । योसँगै अब बैठक कहिले बस्छ र कसरी अघि बढ्छ भन्ने अन्योल देखिएको छ ।

सरकार विरुद्ध अविश्वास प्रस्ताव ल्याएकाे नेपाली कांग्रेस समेत प्रदेश सभा बैठक कसरी अगाडि बढ्छ भन्नेमा अलमल छ । कांग्रेस प्रदेश सभा सदस्य कपिला बोहरा अब के हुन्छ ? भन्ने आफूलाई केही थाहा नभएको बताउनुहुन्छ । ‘सभामुख र संसदीय दलको नेताले जान्नुहोला, म केही जान्दिन’ – उहाँले भन्नुभयो ।

मनाङबाट निर्वाचित कांग्रेसकै प्रदेश सभा सदस्य चिन्ताबहादुर घले पनि प्रदेश सभा बैठक अब कसरी अघि बढ्छ भन्नेबारे केही भन्न नसकिने बताउनुहुन्छ । ‘केन्द्रबाट जे पहल हुन्छ, त्यही अनुसार निर्णय भएर अघि बढ्ला, हामीले भनेर केही हुँदैन’ – उहाँले भन्नुभयो ।

कांग्रेस तनहुँका प्रदेश सभा सदस्य डोवाटे विकले भने बैठक कसरी अघि बढ्ने भन्ने विषयमा कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाबीच छलफल भइरहेको जानकारी दिनुभयो । ‘चार दलबीच छलफल भइरहेको छ, केही निकास निस्किएला’ – विकले भन्नुभयो ।

गोरखाबाट निर्वाचित कांग्रेस प्रदेश सभा सदस्य प्रकाशचन्द्र दवाडी भने सबैभन्दा पहिला जनमोर्चाका सांसद् अपहरणमा परेको हो वा होइन त्यसबारे छानविन हुनुपर्ने बताउनुहुन्छ ।

‘सांसद्लाई के गरेको हो प्रमाणित गर्नुपर्‍याे, त्यसपछि सदन कहाँसम्म जाने भन्ने प्रक्रियामा हाम्रो छलफल हुन्छ’ – उहाँले भन्नुभयो । उहाँले यदि अपहरण हो भने त्यो घटना कुनै पनि सांसद्लाई पर्ने भएकाले पहिला त्यसकै छानविन हुनुपर्ने बताउनुभयो ।

‘हाम्रो पार्टीलाई पनि पर्ला, सत्ता पक्षकै पार्टीका सांसद्लाई पनि पर्नसक्छ, कतै सत्ताको दुरुपयोग भएको हो कि, त्यसैले छानविन हुनुपर्छ भन्ने हाम्रो माग हो’ – दवाडीको भनाइ छ ।

यस विषयमा चार दलको छलफल भएको र जिल्ला प्रशासन कार्यालयमा अहिले सर्वदलीय छलफल हुन लागेको उहाँले जानकारी दिनुभयो । ‘स्थानीय प्रशासनलाई छानविन गर्नुपर्यो भन्नका लागि आजै हामी सबै दलका प्रतिनिधि प्रशासनमा जाँदैछौँ’ – दवाडीले भन्नुभयो ।

कास्कीबाट निर्वाचित कांग्रेस सांसद् विन्दुकुमार थापा आज बिहानैदेखि यस विषयमा तीन दल छलफलमा जुटेको बताउनुहुन्छ । यस विषयमा जनमोर्चासँग पनि छलफल गर्ने उहाँले बताउनुभयो । वैशाख १४ गते  चार बजे जनमोर्चाका सांसद् खिमविक्रम शाहीसँगै आफूले पनि स्वाव टेष्ट गराएको उहाँले जानकारी दिनुुभयो । ‘६ बजेसम्म हामी त्यहीँ छौँ, त्यही समयमा एउटा प्राइवेट हस्पिटलले उहाँको स्वाव लिएको देखिन्छ, सांसद्को एकै ठाउँमा स्वाव लिएको र प्राइवेट हस्पिटलमा उहाँले स्वाव दिएको ५९ सेकेण्डको फरक छ, त्यो भएकाले हामीलाई अलि बढी शंका भयो’ – उहाँले भन्नुभयो ।

हिजो मतदानको समयमा सुरुमा फोन गर्दा शाहीको फोन नउठेको र त्यसपछि मोबाइल नै स्वीच अफ भएको उहाँले जानकारी दिनुभयो । सदन सुचारु गर्ने कुरामा पहिला राष्ट्रिय जनमोर्चाको कुरा सुनिने पनि उहाँले बताउनुभयो । अब चार दल बसेर अनुकूल वातावरण बनेपछि बैठक अघि बढ्ने उहाँको भनाइ छ ।

आजै कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेलको घरमा चार दलको बैठक बस्ने र एउटा निष्कर्षमा पुग्ने पनि उहाँले जानकारी दिनुभयो । बैठकपछि चार दलका नेताको हस्ताक्षरमा विज्ञप्ति निकाल्ने योजना रहेको उहाँले बताउनुभयो ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !