४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपालगञ्ज र ताप्लेजुङमा काेराेनाबाट पाँचकाे ज्यान गयाे

प्रकाशित मिति :  १८ बैशाख २०७८, शनिबार १२:२१


राँझा । नेपालगञ्जस्थित अस्पतालमा भर्ना भएका थप तीन कोरोना संक्रमितको आज ज्यान गएकाे छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ४५ वर्षीय पुरुष,४ निवासी ५८ वर्षीया महिला र तुलसीपुर उपमहानगरपालिका–६ दाङ निवासी ४६ वर्षीय पुरुषको उपचारका क्रममा ज्यान गएकाे जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले बताउनुभयो ।

उहाँका अनुसार, वैशाख १५ गते शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना हुनुभएकी नेपालगञ्ज उपमहानगरपालिका–४ निवासी ५८ वर्षीया महिलाको बिहान ९ः१५ बजे र भेरी अस्पतालमा भर्ना हुनुभएका नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ४५ वर्षीय पुरुषको बिहान १०ः३० बजे ज्यान गएकाे हो ।

यसैगरी, भेरी अस्पतालमा वैशाख १३ गते भर्ना हुनुभएका दाङ तुलसीपुर उपमहानगरपालिका–६ निवासी ४६ वर्षीय पुरुषको दिउँसो ३ बजे ज्यान गएकाे स्रोत व्यक्ति तेज वलीले बताउनुभयो ।

योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या एक सय २० पुगेको छ, भने बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा ज्यान गुमाउनेकाे संख्या एक सय १८ पुगेको छ ।

त्यस्तै, ताप्लेजुङमा कोभिड–१९ को संक्रमणबाट थप दुई जनाको ज्यान गएको छ । फुङ्लिङ नगरपालिका–४ क्याम्पस लाइन निवासी एक पुरुष र वृद्धा महिलाको संक्रमणका कारण ज्यान गएकाे हो ।

प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहनुभएका ६० वर्षीय पुरुषको शनिबार दिउँसो ज्यान गएकाे हो । कोरोना संक्रमण भएपछि केही दिनअघिदेखि प्रतिष्ठानमा भेन्टिलेटरमा राखेर उहाँको उपचार गराइँदै आएको थियो ।

यस्तै, शुक्रबार राति ८५ वर्षीया वृद्धाको कोरोना संक्रमणका कारण ज्यान गएकाे छ । लामो समयदेखि मुटुरोगबाट ग्रसित वृद्धालाई झापास्थित बिर्तासिटी अस्पतालमा उपचार गराएर शुक्रबार घर फर्काइएको थियो ।

घर फर्काएकै दिन राति वृद्धाको ज्यान गएको परिवारका आफन्तले आफूलाई जानकारी गराएको प्रजिअ पाण्डेले बताउनुभयो । पाण्डेका अनुसार ती वृद्धाको एन्टीजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो ।

यता मृतक वृद्धाको दाहसंस्कार भने परिवार आफैँले गरेका छन् । परिवारले नै शनिबार दाहसंस्कार गरेका र दाहसंस्कारमा संलग्न परिवारका चारजना सदस्यलाई चार थान व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) उपलब्ध गराइएको थियो । जनस्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर शवको अन्त्येष्टि गर्न मृतकका आफन्तलाई सुझाव दिएको प्रजिअ पाण्डेले बताउनुभयो ।

यसअघि फुङ्लिङ नगरपालिका–६ कोठेबारीका ५२ वर्षीय एक पुरुषको कोरोना संक्रमणकै कारण ज्यान गएकाे थियो । ती पुरुषको भने नेपाली सेनाले अन्त्येष्टि गरेका थिए । ताप्लेजुङमा २१ जना सक्रिय संक्रमित रहेका जिल्ला अस्पतालका डाक्टर सोनिङ लामाले जानकारी दिनुभयो ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !