४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

काेभिड-१९ राेकथाममा सेना परिचालन गर्न कांग्रेस भित्रबाट उठ्याे आवाज

प्रकाशित मिति :  २० बैशाख २०७८, सोमबार १२:२०


काठमाडौं । कोरोनाको सुनामी भोगिरहेको भारतमा अघोषित रुपमा सेना परिचालन बढ्दै गएको छ ।

सुरुमा सेनाले अक्सिजन ओसारपसारको काम गरेको थियो । यसका लागि भारतीय वायुसेनाको प्रयोग गरिएको थियो । सबै अस्पतालहरुमा सेनाको भूमिका हुनुपर्ने, सेनाले व्यवस्थापन गर्नुपर्ने लगायतका माग भारतमा बढेको बढ्यै छ ।

के नेपालमा पनि सेना परिचालन गर्नुपर्ने अवस्था आउँछ ? यस्तो प्रश्न उठेको छ ।

अहिले नेपाली सेनाले महामारीको सन्दर्भमा शव व्यवस्थापनको काम मात्र गरिरहेको छ । सेनाले पहिलेदेखि नै चलाउँदै आइरहेको अस्पतालमा कोभिडको उपचार पनि भइरहेको छ । यस बाहेक सेनालाई भूमिका दिइएको छैन ।

निषेधाज्ञा कार्यान्वयनमा पनि सेनाको कुनै भूमिका देखिएको छैन । तर, सिसीएमसीमा भने सेनाको पनि प्रतिनिधित्व छ ।

अब सेना परिचालित हुनुपर्ने माग कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा लेख्दै सेना परिचालनको माग गर्नुभएको हो ।

सेनालाई महामारीमा कसरी परिचालन गर्ने ? यसबारेमा पूर्णबहादुरको धारणा यस्तो छ– ‘सेनालाई आवश्यक बजेट दिई तत्काल प्रदेशहरुमा अक्सिजन सुविधा सहितको अस्थायी अस्पताल र आईशोलेसन सेन्टर निर्माण अनि बोर्डर र प्रदेशका सिमानामा आवागमन ब्यवस्थित तरिकाले एन्टिजिन टेस्ट गरी गन्तव्यसम्म उपयुक्त ब्यवस्थापन गर्ने जिम्मेवारी सुम्पन ढिलो नगर सरकार ।’

महामन्त्री पूर्णबहादुरको धारणा निजी हो कि कांग्रेस पार्टीकै हो भन्ने प्रष्ट हुन सकेको छैन । कांग्रेसका अन्य नेताहरुले भने पूर्णबहादुरको जस्तो धारणा राखेका छैनन् ।

पूर्णबहादुरले त्यस्तो विचार राख्नुभए लगत्तै नेपाली सेनाले शव व्यवस्थापन र कोभिडबाट हुने मृत्युको संख्यामा चिन्ता व्यक्त गरेको छ । सेनाका प्रवक्ता सन्तोष वल्लभ पौडेलले काठमाडौं उपत्यकामा मृतकको संख्या बढ्दै गएकाले आगामी दिनमा सामूहिक शवदाह गर्नुपर्ने अवस्था आउन सक्छ भन्दै चिन्ता व्यक्त गर्नुभएको हो ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !