एक्सन अनुसारको रियाक्सन गर्छाैं– राजबहादुर बुढा
काठमाडौं । ‘२७ गते सुरु हने प्रतिनिधि सभामा दुर्घटना हुनेछ’– नेकपा एमालेका प्रतिनिधि सभा सदस्य राजबहादुर बुढाको दावी हो यो । भन्नुहुन्छ– ‘पार्टीलाई पूर्व अवस्थामा फर्काइयो भने परिस्थिति सहज ढंगले अगाडि बढ्छ, बलमिच्याईं गरियो भने दुर्घटना हुन्छ ’
यस संवाददातासँग कुरा गर्दै सांसद् बुढाले भन्नुभयो– ‘कस्तो खालको दुर्घटना हुन्छ त्यो भन्न सकिन्न तर हामी दुर्घटना गराउँछौं ।’
माधवकुरमार नेपालको गुटमा रहनुभएका सांसद् बुढाले भन्नुभयो– ‘पार्टी अध्यक्षको नाताले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल छलफल गरेर समाधान दिनुपर्छ, हामीलाई बाइपास गर्न खोजियो भने चुप लागेर बस्दैनौं, एक्सन अनुसारको रियाक्सन गर्र्छाैं ।’
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री ओलीसँग छलफल गरेर पार्टीलाई पूर्व अवस्थामा फर्काउनुपर्ने भन्दै बुढाले भन्नुभयो– ‘प्रधानमन्त्रीले कुनै पनि पहल थाल्नुभएन भने हामी चुप लागेर बस्दैनौं ।’
सामूहिक राजीनामा दिने हो भनेर सोधिएको प्रश्नमा बुढाले भन्नुभयो– ‘सामूहिक राजीनामाबारे पनि छलफल गर्दैछौं । सामूहिक राजीनामा पनि जएउटा विकल्प हो । अरु विकल्प पनि छ । हाम्रो पहिलो रोजाई पार्टी एकता हो ।’
‘हामी विभाजनको पक्षमा छैनौं, त्यस्तो हुन्थ्यो भने हामी सर्वोच्च र निर्वाचन आयोग नगएर प्रचण्ड कहाँ जान्थ्यौं या नयाँ पार्टी बनाउथ्यौं’ बुढाले भन्नुभयो ।
‘सिके राउत, विप्लव जस्तालाई मूलधारमा ल्याउन सक्ने ओलीले ५० बर्ष देखिको साथीलाई फकाउन नसक्ने भन्ने हुन्छ र ? तर, ओलीलाई यो कुराको मतलब नै छैन’– बुढाको गुनासो थियो ।
‘२७ गते विश्वासको मत लिन उहाँले पार्टीभित्रैबाट सक्नुभएन भने पार्टी बाहिरबाट विश्वास जित्न सक्नुहुन्छ र ? उहाँले पार्टीभित्रबाट नै सामाधान खोज्नुपर्छ नभए दुर्घटना हुन्छ’ बुढाले भन्नुभयो ‘उहाँ आफ्नै हिसाबले चल्ने हो भने हामी पनि आफ्नै तरिकाले चल्छौं ।’
‘आफ्नो अस्तित्व नरहने ठाउँमा बस्नुको अर्थ हुँदैन, हामीले पनि आफ्नो बाटो हेर्नुपर्छ’– बुढाले भन्नुभयो ।
-आइएनए न्युज एजेन्सी