४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चाँगुनारायणमा यस्ताे छ काेभिड राेकथामकालागि तयारी

प्रकाशित मिति :  २२ बैशाख २०७८, बुधबार ०६:४६


काठमाडौं । ‘अवस्था भयावह छ, तयारी पनि छ, जत्रो महामारी त्यही अनुसारको तयारी त गर्नै पर्यो नि त्योसँग जुध्नलाई’, चाँगुनारायण नगरपालिका भक्तपुरका प्रमुख सोमप्रसाद मिश्र भन्नुहुन्छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिकामा पनि कोभिडका संक्रमित बढ्दै गएका छन् । संक्रमित बढेसँगै त्यसको व्यवस्थापनको तयारीमा नगरपालिका जुटेको छ । ‘हिजो बेलुकासम्मको तथ्याङ्कमा संक्रमितको संख्या २ सय नाघेको छ, हामी पनि त्यही अनुसारको तयारीमा जुटेका छौँ’,नगरपमुख मिश्रले भन्नुभयो ।

संक्रमितलाई राख्नको लागि नगरपालिकाले १ सय बेडको आइसोलेसन निर्माण गरेको छ । नेपाल इञ्जिनियरिङ कलेजको भवन लिएर नगरपालिकाले त्यहीँ आइसोलेसन बेड स्थापना गरेको छ ।

मिश्रका अनुसार नगरपालिकाले संक्रमितको उपचारको लागि नगरअस्पताल सञ्चालनमा ल्याएको छ । १७ बेडको नगरअस्पताललाई बिरामीको चाप हेरेर ३० बेडसम्म राख्न सक्ने गरी व्यवस्थापन गरिएको छ ।

नगरपालिकाले क्वारेन्टाइनको आवश्यकता भने महसुस नगरेको नगरप्रमुख मिश्रको भनाइ छ । ‘क्वारेन्टाइन विदेशबाट आउनेलाई आवश्यक पर्ने रहेछ, हवाई सेवा बन्द भएकोले विदेशबाट आउने अवस्था अब छैन, बाँकीलाई आइसोलेसन नै हो’, उहाँले भन्नुभयो ।

विद्यार्थीहरु घर गइसकेका र मजदुरहरुको काम चलिरहेको कारण यस वर्ष राहत वितरण गर्नुपर्ने अवस्था नरहेको उहाँले बताउनुभयो । ‘अब खेतीपातीको काम सुरु भएकोले काम गरेर खानेलाई ज्यालादारीको अवसर छ, त्यसकारण खानै नपाउने स्थिति नबुझिएकोले राहतको काम भने अघि बढाएको छैनौँ’, उहाँले भन्नुभयो ।

नगरपालिकाले बिरामीको उपचारको लागि प्रविधिको प्रयोग पनि सुरु गरेको छ । हरेक साँझ आइसोलेसनमा बसेका बिरामीलाई जुममा जोडेर चिकित्सकले परामर्श तथा काउन्सिलिङ दिने गरेका छन् ।

यसबाट संक्रमितले अनुभव आदानप्रदानका साथै उचित परामर्श पाउने गरेका छन् । ‘२ सय ८ जना बिरामी मध्ये ६ जना अस्पतालमा हुनुहुन्छ, अरु सबै होम आइसोलेसनमा हुनुहुन्छ, उहाँहरुको लागि हामीले डाक्टरको परामर्श सेवा चलाएका छौँ, जसलाई हामीले डाक्टर सर्विसिङ इन आइसोलेसन भनेका छौँ’, मिश्रले भन्नुभयो ।

नगरपालिकाका बाहिर परीक्षण गर्ने संक्रमितले स्थायी ठेगाना नलेखाइदिँदा संक्रमण नियन्त्रणमा समस्या देखिएको उहाँको अनुभव छ । जहाँ काम गर्छन् त्यहीँको ठेगाना लेखाएर संक्रमित भएपनि नगरपालिकामा आएर बस्नेको तथ्याङ्क नहुने हुँदा उनीहरुको स्वास्थ्य अवस्था बुझ्न र मापदण्ड पालना गरे नगरेको अनुगमन गर्न अप्ठेरो भइरहेको उहाँले बताउनुभयो ।

त्यसैले चाँगुनारायण स्थायी ठेगाना हुने सबैलाई कोभिडको परीक्षण गर्दा स्थायी ठेगाना र सही मोवाइल नम्बर लेखाउन उहाँको आग्रह छ । यसो गर्दा बिरामीको हेरचाह र कन्ट्रयाक ट्रेसिङ् गर्न  समेत सजिलो हुने उहाँले बताउनुभयो ।

अहिले सबै भन्दा ठूलो समस्या चाहीँ आईसीयू र भेण्टिलेटरको भएको उहाँको अनुभव छ । आईसीयू चाहियो भनेर फोन गर्नेको संख्या दिनदिनै बढ्दै गएको उहाँले बताउनुभयो । ‘अस्पतालमा आईसीयू नपाइने चाहीँ एकदमै ठूलो समस्या छ’, उहाँले भन्नुभयो ।

कोभिडको परीक्षण रिपोर्ट आउनलाई दुई दिन पर्खनु पर्ने भएकोले पनि संक्रमण थप फैलिएको उहाँको अनुभव छ । यसैगरी नमूना संकलन गर्दा हुने भिडले थप संक्रमण सार्नसक्ने जोखिम रहेको मिश्रले बताउनुभयो । ‘स्वाब दिएको दुई दिनमा मात्र रिपोर्ट आउँछ, त्यतिबेलासम्म संक्रमित परेजमा नबस्दा धेरैलाई संक्रमण सारिसक्छ’, उहाँले भन्नुभयो ।

कतिपय अस्पतालले बेड हुँदा हँुदैपनि बेड छैन भनेर पन्छने गरेको गुनासो नगरप्रमुख मिश्रको छ । ‘आईसीयू खाली हुँदा पनि प्याक छ भन्ने गरेको पाइयो’, उहाँले भन्नुभयो ।

छिटो भन्दा छिटो संक्रमितको रिपोर्ट सार्वजनिक गर्ने, स्थायी ठेगाना र सही मोवाइल नं सहितको रिपोर्टिङ सिस्टम विकास गर्नु पर्ने, परीक्षणको दायरा बढाउनु पर्ने, आईसीयू र भेण्टिलेटर रिजर्व राखेर हुँदा हुँदै पनि छैन भन्ने कुरालाई हटाउन कडा अनुगमन गर्ने सिष्टम विकास गर्नु पर्ने उहाँको सुझाव छ । ‘मान्छे अक्सिजन, बेड र आईसीयू नपाएर मर्ने स्थिति नहोस्’, नगरप्रमुख मिश्रले भन्नुभयो ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !