३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सगरमाथा आधार शिविरबाट फर्किएका १२ मा संक्रमण

प्रकाशित मिति :  २४ बैशाख २०७८, शुक्रबार १४:१८


सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा कोरोना संक्रमितको संख्या २१ पुगेको छ । सगरमाथा आधार शिविरबाट फर्किएका १२ र सोलुदूधकुण्ड नगरपालिकामा थप एक जनामा पोजिटिभ देखिएसँगै संक्रमितको संख्या २१ पुगेको हो ।

सगरमाथा आधार शिविरबाट फर्केका दुई विदेशीसहित १२ जनालाई कोरोना संक्रमण पुष्टि भएको खुम्बुपासाङ ल्हामु गाउँपालिकाका स्वास्थ्य संयोजक अर्थिमाया तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार यही वैशाख १५ र १६ गते एन्टिजेन परीक्षण गर्दा दुई जनामा कोरोना संक्रण पुष्टि भएको थियो । यस्तै बुधबार दुई तथा बिहीबार र आज चार÷चार जनामा सङ्क्रमण पुष्टि भएको उहाँले बताउनुभयो ।

तीमध्ये कोरोना सङ्क्रमित दुईमा श्वासप्रश्वासमा समस्या देखिएपछि गाउँपालिकाको आइसोलेशन सेन्टरमा राखी उपचार सुरु गरिएको गाउँपालिकाले जनाएको छ । अन्य आठलार्ई होम आइसोलेशनमा राखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका अनुसार आजसम्म चार जनालाई थप उपचारका लागि अन्यत्र रिफर गरिएको छ । खुम्बुपासाङ ल्हामु गाउँपालिकाबाट फिलिपिन्स र दुबईका एक÷एक नागरिकलाई थप उपचारका लागि हेलीकोप्टरमार्फत काठमाडौं पठाइएको गाउँपालिका स्वास्थ्य संयोजक तामाङले जानकारी दिनुभयो ।

यस्तै जिल्ला अस्पताल फाप्लुमा परीक्षण गरेकामध्ये एकलाई काठमाडौं र एकलाई विराटनगर रिफर गरिएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका सूचना अधिकारी रामनारायण शाहले जानकारी दिनुभयो । लिखु हाइड्रोपावरमा गरिएको परीक्षणसहितको तथ्यांकलाई आधार मान्ने हो भने अहिलेसम्म जिल्लामा ३० जनामा कोरोना संक्रमण भएको छ तर हाइड्रोपावरले गरेको परीक्षणलाई नेपाल सरकारले आधिकारिक मानेको छैन ।
–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !