३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

हेलिकोप्टरमा चितवन ल्याउँदै कोरोना संक्रमित

प्रकाशित मिति :  २६ बैशाख २०७८, आईतवार ०२:१३


चितवन । राजधानी काठमाडौंसहित देशका मुख्य ठूला शहरका अस्पतालमा शय्या भरिएपछि हेलिकोप्टरमार्फत यहाँ सङ्क्रमित ल्याउन थालिएको छ । यहाँ अक्सिजन र शय्याको अभाव हालसम्म नदेखिएपछि अन्यत्रबाट यहाँ संक्रमित ल्याउने क्रम बढेको हो ।

जिल्लाको सरकारी भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेजमा कोभिड उपचार हुँदै आएको छ । यहाँकै विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पनि क्यान्सरका बिरामी र कर्मचारी सङ्क्रमित भएमा राख्नका लागि २० शय्याको कक्ष तयार गरेको छ । यी सबै अस्पतालका आफ्नै अक्सिजन प्लान्ट भएकाले हालसम्म अक्सिजनको अभाव देखिएको छैन ।

चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार हालसम्म काठमाडौंबाट दुई, नेपालगञ्जबाट दुई, दाङ र भैरहवाबाट एक÷एक सङ्क्रमितलाई हेलिकोप्टरबाट यहाँ ल्याइएको छ । आज मात्रै एक सङ्क्रमितलाई काठमाडौंबाट हेलिकोप्टरमार्फत यहाँ ल्याइएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार एम्बुलेन्स र अन्य साधन प्रयोग गरी धेरै टाढाबाट आउने संक्रमितको संख्या ठूलो छ । उहाँले भन्नुभयो, ‘यसरी आउनेको यकिन तथ्यांक त छैन तर ठूलो संख्यामा काठमाडौंलगायतका ठूला शहरबाट संक्रमित यहाँ आएका छन् ।’

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारी बिरामी थाम्न मुस्किल हुन थालेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘अब थप बिरामी उपचार गर्न कठिन होलाजस्तो छ । सके र भएसम्म हामी जुटिरहेका छौँ ।’ प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले यहाँ जटिल बिरामीलाई मात्रै पठाइदिन छिमेकी जिल्लामा अनुरोध गरेको बताउनुभयो । आज मात्रै मकवानपुर, नवलपरासी (त्रिवेणी सुस्तापूर्व) पश्चिम र रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेर सामान्य अवस्थाका बिरामीलाई त्यहीँ व्यवस्थापन गरी जटिल मात्रै पठाइदिन अनुरोध गरेको जानकारी दिनुभयो ।

जिल्लाका अस्पतालमा अन्य जिल्लाबाट हेलिकोप्टरमा समेत बिरामी आएको भन्दै उहाँले सामान्य अवस्थाका संक्रमित आएर शय्या भरिएमा जटिल बिरामीलाई उपचार दिन कठिन हुने बताउनुभयो । उहाँले जिल्लाका अन्य निजी अस्पतालले पनि आजदेखि सङ्क्रमितको उपचार थाल्ने जानकारी दिनुभयो । अस्पतालहरुलाई वैकल्पिक स्वास्थ्यकर्मीको टिम तयार गरेर राख्न भनिएको छ ।

जिल्लाका अस्पतालमा कोभिडको उपचार गराउन आउने ५० प्रतिशत हाराहारी बाहिरी जिल्लाका रहेको अस्पतालले जनाएका छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार जिल्लाका अस्पतालमा तीन सय ५६ संक्रमितको उपचार भइरहेको छ । तीमध्ये चितवन मेडिकल कलेजमा एक सय ४९, भरतपुर अस्पतालमा एक सय ३१, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा ५१, क्यान्सर अस्पतालमा एक र अन्य अस्पतालमा २४ जनाको उपचार भइरहेको कार्यालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लाका विभिन्न अस्पतालमा र अस्पताल ल्याउँदै गरेको गरी १४ जनाको निधन भएको छ । जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार भरतपुर अस्पतालमा ६, चितवन मेडिकल कलेजमा दुई, कलेज अफ मेडिकल साइन्सेजमा तीन, क्यान्सर अस्पतालमा एक र राप्ती नगरपालिकाबाट अस्पताल ल्याउँदै गर्दा बाटोमा एक जनाको ज्यान गएको छ ।

प्रमुख र उपप्रमुख चढ्ने गाडी संक्रमित बोक्न प्रयोग

पूर्वी चितवनको रत्ननगर नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले चढ्ने गाडी कोरोना संक्रमित बिरामीलाई अस्पताल लान र ल्याउन प्रयोग गरिने भएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि प्रमुख नारायण वन, उपप्रमुख विमला दुवाडी, प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल र योजना शाखाका कर्मचारीले प्रयोग गर्दै अएका गाडी कोरोना संक्रमित बिरामीलाई अस्पताल लैजान प्रयोग गरिने भएको हो ।

संक्रमितलाई अस्पताल लैजान एम्बुलेन्सलगायत अन्य सवारी साधनको माग बढ्न थालेपछि प्रमुख वनले आफू चढ्दै आएकोसहित चारवटा गाडी संक्रमितका लागि प्रयोग गर्ने घोषणा गर्नुभएको हो । प्रमुख वनले चढ्दै आएको बा२झ ३३९९, उपप्रमुख दुवाडीले चढ्दै आएको ना१झ १५८६, प्रमुख प्रशासकीय अधिकृत पौडेलले चढ्दै आएको बा१२च२७१ र कर्मचारीले प्रयोग गर्दै आएको बा२झ १२१७ नम्बरको गाडी कोरोना संक्रमितलाई घरबाट आइसोलेशन र आइसोलेशनबाट अस्पताल लैजान प्रयोग गरिने नगरपालिकाले जनाएको छ ।

‘अब हाम्रा गाडीहरु एम्बुलेन्सका रूपमा प्रयोग गर्दैछौँ’, वनले भन्नुभयो, ‘कोही पनि नगरवासी सवारी साधन नपाएर छटपटाउनु पर्दैन ।’ वनले सवारी साधनको आवश्यक परे ढुक्क भएर नगरपालिकामा सम्पर्क गर्नसमेत आग्रह गनुभएको छ । संक्रमितलाई छिटोछरितोरूपमा सेवा दिनका लागि आफूहरुले चढेको गाडी प्रयोगमा ल्याइएको उहाँको भनाइ छ । यसअघि रत्ननगरले कोरोना संक्रमितलाई अस्पताल लैजान निः शुल्क एम्बुलेन्स सेवा सुरु गरिसकेको छ । होम आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितलाई घरघरमै पुगेर यहाँका स्वास्थ्यकर्मीले उपचार तथा रेखदेख गर्दै आएका छन् ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !