जसपाले सरकारको विपक्षमा मतदान नगर्ने, केपी ओली नै प्रधानमन्त्री हुने
काठमाडौं । केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले सरकार ढालेर प्रधानमन्त्री बन्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सपना तत्काल साकार नहुने देखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले सरकारले लिन लागेको विश्वासको मत असफल गराई प्रधानमन्त्री बन्ने देउवाको इच्छामा जनता समाजवादी पार्टी अवरोध बनेको छ । त्यस्तै केपी ओलीलाई सत्ताच्युत गरी नामोनिसान मेट्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेकै नेता माधव नेपाल लगायतको सपना फेरि टुट्ने देखिएको छ ।
जनता समाजवादी पार्टी (जसपा) ले सरकारको पक्ष र विपक्षमा दुवै तर्फ मतदान नगर्ने भएको छ । जसपाको यो निर्णयसँगै देउवाको प्रधानमन्त्री बन्ने सपना तत्काललाई टुट्ने भएको छ भने प्रचण्ड र माधव नेपाललाई थप टाउको दुखाइ बन्ने भएको छ ।
सरकारको पक्षमा जाने कि विपक्षमा जाने भन्ने विवादमा फसेको जसपाले पार्टीलाई विभाजनमा जानबाट जोगाउन मध्यविन्दु खोजेको छ । अब जसपा भोलि हुने सरकारको विश्वासको मत माथिको मतदानमा अनुपस्थित हुने भएको छ ।
जसपा बैठकमा अनुपस्थित हुँदा सरकारलाई विश्वासको मत त प्राप्त हुने छैन नै तर शेरबहादुर देउवा वा अन्य कोही नेता पनि प्रधानमन्त्री हुन पाउनुहुने छैन ।
जसपा मतदानमा अनुपस्थित हुँदा सरकारलाई आवश्यक पर्ने बहुमत पुग्ने छैन । तर जसपाले समर्थन नगरेसम्म एमाले बाहेकको सरकार बन्नको लागि अन्य दललाई बहुमत पनि पुग्ने छैन । त्यस्तो अवस्थामा संसद्को सबैभन्दा ठूलो राजनीतिक दलको हैसियतले नेकपा एमाले र त्यसको ससदीय दलका नेता केपी शर्मा ओली नै पुनःप्रधानमन्त्री बन्नु हुने छ ।
आज देउवा निवास पुगेर जसपा अध्यक्ष महन्थ ठाकुर र नेता उपेन्द्र महतोले सरकारको विपक्षमा मतदान नगर्ने स्पष्ट पारिसक्नु भएको छ । जसपाले तत्काल अर्को वैकल्पिक सरकार बन्ने सम्भावना नरहेको बताउँदै केपी ओली नेतृत्वकै चुनावी सरकार बन्ने देउवालाई स्पष्ट पारेको छ ।
देउवालाई भेटेर प्रधानमन्त्री निवास पुग्नुभएका दुवै नेताले प्रधानमन्त्रीलाई पनि विश्वासको मत दिन नसक्ने बताउनुभएको छ । तर ओली सरकारले जसपाको माग सम्बोधन गर्न सुरु गरेकोले सरकारको विपक्षमा पनि मतदान नगर्ने उहाँहरुले प्रष्ट पार्नु भएको छ ।
जसपाले भनेको जस्तै भूमिका निर्वाह गर्यो भने नेकपाको माधव नेपाल समूहका सांसद्ले सामूहिक राजीनामा गरे वा मतदानको बेलामा फ्लोर क्रस गरेपनि सरकारलाई कही फरक पर्दैन ।
विश्वासको मत प्राप्त नगरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुहुने छ । त्यस पछि बहुमत पुर्याएर संयुक्त सरकार बनाउनको लागि राष्ट्रपतिले आह्वान गर्नु हुने छ । कुनै पनि दलले बहुमत पुर्याउन नसकेपछि संसद्मा सबैभन्दा ठूलो दलको हैसियतले एमाले संसदीय दलका नेता केपी ओलीलाई राष्ट्रपतिले पुन: प्रधानमन्त्री बनाउनु हुने छ ।
केपी ओलीले सरकार बनाएपछि संसद्बाट विश्वासको मत लिनु पर्ने छ । त्यो विश्वसाको मत प्राप्त नभएपछि प्रतिनिधि सभा विघटन गर्ने छ र सोही सरकारले निर्वाचनको घोषणा गर्ने छ । ओली नेतृत्वको एमाले सरकारले नै निर्वाचन गराउने छ ।
यस अघि पुस ५ गते नै प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचनको सिफारिस गर्नुभएको थियो । सरकारले यही वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेको थियो । तर सर्वोच्च अदालतले प्रतिनिधि सभा पुर्नस्थापना गरिदिए पछि सरकारको निर्णय बदर भएको थियो । सम्भवत: वैशाख २७ पछि देश प्रधानमन्त्री केपी शर्मा ओलीले यस अघि गरेकै निर्णयमा फर्कने भएको छ ।
-आइएनए न्युज एजेन्सी