अन्तिम प्रयास असफल भयो-झपट रावल
काठमाडौं । माधव नेपाल गुटका नेकपा एमालेका सांसद्को बैठक सिंहदरबारमा सुरु भएको छ ।
सिंहदरबार स्थिति संघीय संसद् सचिवालयमा बैठक सुरु भएको हो । बैठक स्थलमा माधव नेपाल, भीम रावल लगायतका नेपाल गुटका सांसद् प्रवेश गरिसकेका छन् ।
बैठक कक्षमा प्रवेश गर्नु अघि माधव गुटका सांसद् झपट रावलले आफूहरुको प्रयास असफल भएको बताउनुभएको छ । बैठकमा प्रवेश गर्नुअघि उहाँले पत्रकारसँग भन्नुभयो,‘ अन्तिम प्रयास असफल भयो, हामी स्तब्ध छौँ ।’
प्रतिनिधि सभामा आज प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नेकपा एमालेको फागुन २८ गतेको बैठकको निर्णय फिर्ता लिनु पर्ने लगायतको माग नेपाल पक्षले राखेको थियो । ती माग सम्बोधन नगरे आफ्ना पक्षका सांसद्ले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिने लगायतको कठोर निर्णय गर्ने माधव नेपालले हिजो राति विज्ञप्ति जारी गरी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिनुभएको थियो ।
माग सम्बोधनका लागि नेपाल गुटले आज बिहान ९ बजेसम्मको समय दिएको थियो । तर सो समयसम्म कुनै छलफल अघि नबढेपछि नेपाल गुटले रणनीति बनाउन बैठक राखेको हो ।
आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दै छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कार्यतालिक रहेको छ ।
-आइएनए न्युज एजेन्सी