राजनीतिक अन्योलको निकास ताजा जनादेश- प्रेम सुवाल
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले राजनीतिक अन्योलको निकास ताजा जनादेश भएको बताउनुभएको छ ।
प्रतिनिधि सभा सदस्य सुवालले आजको प्रतिनिधि सभा बैठकमा बोल्दै राजनीतिक अन्योल हटाउन जनताको बीचमा जानुको विकल्प नभएको बताउनुभयो । ‘जनताको ताजा जनादेश लिनु अथवा ताजा निर्वाचनमा जानु नै प्रजातान्त्रिक बाटो हो’, सुवालले भन्नुभयो ।
वैकल्पिक सरकारको प्रस्ताव गर्ने कांग्रेस र माओवादीसँग समेत कुनै कार्ययोजना नभएको उहाँले बताउनुभयो । उहाँले राष्ट्र, राष्ट्यिताको रक्षा, नागरिकको रक्षा, सुशासन र विकासमा वैकल्पिक सरकार गठनको प्रस्ताव ल्याउने दलको कुनै योजना नरहेको बताउनुभयो ।
सत्ताको लागि विचार नमिन्ने बीचको एकता र गठबन्धनले काम गर्न नसक्ने कुरा विगतको अभ्यासबाट प्रमाणित भइसकेको सुवालको भनाइ छ ।
संवैधानिक परिषद् सत्ता र प्रतिपक्षको भागवण्डाको थलो नभएको पनि उहाँले बताउनुभयो ।
खुल्ला सिमा बन्द नगरेसम्म नेपालमा नागरिकता समस्या समाधान नहुने विज्ञको मत रहेको प्रति उहाँले सभाको ध्यानाकर्षण गराउनुभयो । कोभिड नियन्त्रण गर्न भारतीय नाकामा जाच गर्ने व्यवस्था मिलाउन र उचित औषधी उपचारको व्यवस्था गर्न उहाँले आग्रह गर्नुभयो ।
-आइएनए न्युज एजेन्सी