१० मंसिर २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एकता र सहिष्णुता नेपालीको पूँजी-प्रम ओली

प्रकाशित मिति :  ३१ बैशाख २०७८, शुक्रबार ०७:४६


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एकता र सहिष्णुता नेपालीको पूँजी भएको बताउनुभएको छ ।

इस्लाम धर्मालम्बीको महान पर्व ईद–उल–फित्रको अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यही एकता र सहिष्णुताको पूँजीलाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्ने बताउनुभएको छ । ‘एकता र सहिष्णुताको यस पूँजीलाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नु पर्दछ’, प्रधानमन्त्रीले दिनुभएको शुभकामना सन्देशमा उल्लेख छ ।

विभिन्न धर्म र संस्कृतिमा आधारित पर्व नेपालको राष्ट्रिय एकता, पारस्पारिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान भएको प्रधानमन्त्रीले बताउनुभएको छ । ‘विभिन्न धार्मिक तथा सांस्कृतिक आस्थाहरु यस देशमा सम्मानित र संरक्षित छन्’, सन्देशमा लेखिएको छ ।

लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधिनता, राष्ट्रिय अखण्डता र देश भक्तिलाई केन्द्रमा राख्दै कायम गरिने अक्षुण एकता, सद्भाव र सहिष्णुता नेपालको राष्ट्रिय विशेषता भएको प्रधानमन्त्रीले बताउनुभएको छ । यसै विशेषतालाई आत्मसाथ गर्दै समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा गर्ने अभियानमा लागेको प्रधानमन्त्रीले स्पष्ट पार्नुभएको छ ।

उहाँले ईदको अवसरमा सबैमा शुभकामना दिँदै कोभिड महामारीको कारण सुरक्षित भएर पर्व मनाउन आह्वान गर्नुभएको छ । प्रधानमन्त्रीले ईदको अवसरमा सम्पूर्णमा सुख शान्ति एवं समृद्धिको कामना समेत गर्नुभएको छ ।

अरवी पात्रो अनुसरा रमदान महिनाको अवधिभर राजा बसी नमाज पढेर महिनाको अन्तिम दिन चन्द्रमा उदाय पछि ईद–उल–फित्र मनाइन्छ । ईदमा विशेष नमाज समर्पण गरिसकेपछि आपसमा शुभकामना र आर्शीवचन आदानप्रदान गरिनुका साथै मिष्ठान्न परिकार समेत खाने र खुवाउने परम्परा रहिआएको छ । यो दिन गरिबलाई दान गर्ने प्रचन समेत रहेको छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !