३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पाटन, डडेल्धुरा र भेरी अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुने

प्रकाशित मिति :  १ जेष्ठ २०७८, शनिबार ०३:२०


काठमाडौं । सरकारले पाटन, डडेल्धुरा र भेरी अस्पतालामा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ ।

ती अस्पतालमा प्लान्ट स्थापनाको लागि सरकारले बजेट छुट्याएको छ । कोभिड–१९ का संक्रमित बिरामीलाई अत्यावश्यक पर्ने अक्सिजन अस्पतालमा नै उत्पादन गर्ने उद्देश्यले सरकारले ती प्लान्ट स्थापना गर्न लागेको हो ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुनः पदवहाली गरेकै दिन शुक्रबार ती अस्पतालका लागि रकम विनियोजन गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको हो । मन्त्रालयले पाटन, डडेल्धुरा र भेरी अस्पतालमा प्लान्ट निर्माणको लागि ५ करोड ८३ लाख २४ हजार रुपैँया बजेट स्वीकृत गरेको छ ।

डडेल्धुरा अस्पतालमा अक्सिजन प्लान्ट जडानका निमित्त अमरगढी नगरपालिकाले गरेको अनुरोधलाई अर्थमन्त्रालयले स्वीकृत गरेको भन्दै नगरपालिका प्रमुख विश्वेश्वरप्रसाद ओझा विपिनले धन्यवाद व्यक्त गर्नुभयो । जिल्लाको अस्पतालमा अक्सिजन प्लाण्ट जडान भएपछि कोभिडसँग लड्न निक्कै सहज हुने उहाँले बताउनुभयो ।

पछिल्लो समय देशभरि अक्सिजन दिनु पर्ने कोभिडका बिरामी बढ्दै गएपछि देश भरि नै अक्सिजनको अभाव बढ्न थालेको छ । त्यसैलाई ध्यानमा राखी अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने सरकारले निर्णय गरेको हो ।

सरकारले १ सय बेड भन्दाबढी क्षमताका निजी अस्पताललाई समेत अनिवार्य रुपमा १५ दिन भित्र अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिइसकेको छ ।

अक्सिजन प्लान्टका उपकरण आयातमा सरकारले भन्सार छुट दिने निर्णय यस अघि नै गरिसकेको छ । शुक्रबार मात्रै पदभार ग्रहण गरेपछि उर्जामन्त्री टोपबहादुर रायमाझीले अक्सिजन प्लान्ट सञ्चालनमा लाग्ने विद्युत शुल्क छुट गर्ने प्रस्ताव मन्त्रिपरिषद बैठकमा लैजाने निर्णय गरिसक्नु भएको छ । सो छुट वैशाख १ गतेदेखि असोजसम्म दिने प्रस्ताव लैजाने निर्णय मन्त्री रायमाझीले गर्नुभएको छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !