१४ कार्तिक २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

केही खास नेताहरुले राजनीतिक सोमत, संस्कार र संस्कृति त्यागे

प्रकाशित मिति :  १ जेष्ठ २०७८, शनिबार ०९:५१


काठमाडौं । नेपालका केही खास नेताहरुले राजनीतिक सोमत, संस्कार र संस्कृति त्यागेर आफ्नै इज्जत लिलाम गर्न थालेका हुन् ? नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ कार्यक्रमपछि यस्तो प्रश्न उठ्न थालेको छ ।

शुक्रबार शीतल निवासमा केपी शर्मा ओली प्रधानमन्त्री पदको सपथ लिँदै हुनुहुन्थ्यो, उता बुढानिलकण्ठ देउवा निवासमा अर्को बैठक चल्दै थियो । केपी ओलीले देश र जनताका नाममा सपथ लिँदै गर्दा बुढानिलकण्ठमा ओलीलाई कसरी असफल पार्ने भनेर योजना बुनिँदै थियो ।

नवनियुक्त प्रधानमन्त्री ओलीको सपथ समारोहमा प्रमुख प्रतिपक्षी नेताको उपस्थिति अपरिहार्य थियो । तर, देउवा जानुभएन । राजनीतिक सोमत, संस्कार र संस्कृतिको मामिलामा कांग्रेसको विगत राम्रै मानिन्छ । तर, कांग्रेसको राजनीतिक संस्कार र संस्कृतिमा कालो पोत्दै देउवा सपथ समारोहमा जानुभएन ।

देउवा मात्र नभएर पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सपथ समारोहमा जानुभएन । राष्ट्रपति, उपराष्ट्रपति, नवनियुक्त प्रधानमन्त्री, सभामुख, उच्च ओहोदाका महानुभावहरु तथा अन्तराष्ट्रिय जगत समेत उपस्थित हुने समारोहमा देउवा र प्रचण्ड नजाँदा उहाँहरुको राजनीतिक सोमत र संस्कारमा प्रश्न उठेको छ ।

सपथ समारोहमा जे भयो, त्यसले राष्ट्रपति बन्न नपाएपछि डोनाल्ड ट्रम्पले अमेरिकामा गर्नुभएको उत्पातसँग तुलना गर्न थालिएको छ । ट्रम्पको शैलीलाई अमेरिकामा बिहारी र बङगलादेशी शैली भनेर आलोचना गर्ने गरिएको छ । बङगलादेशमा पदमा रहेका नेताप्रति प्रतिस्पर्धी नेताले अत्यन्तै तल्लो दर्जाको व्यवहार गर्छन्, सामाजिक र व्यक्तिगत सम्बन्ध पनि राख्दैनन् । व्यक्तिगत सत्रु झैं गर्छन् ।

बङगलादेशमा पदीय मर्यादा र दायित्वको सीमा नाघेर असहिष्णुता देखाउने गरिएको छ । तर, नेपालमा भने त्यस्तो थिएन । बाहिर जतिसुकै आलोचना गरे पनि सामाजिक व्यवहार र शिष्टाचारमा विरलै नेता चुक्ने गरेका थिए ।

प्रतिस्पर्धा र खिचातानीका बेला जेजे भए पनि राजनीतिक संस्कार र संस्कृति देखाउनुपर्ने, पालना गर्नुपर्ने बेलामा नेपाली नेताहरु विरलै मात्र चुक्ने गरेका छन् । तर, यस पटक भने सारा विश्वले थाहा पाउने गरी देउवा र प्रचण्डले आफ्नो इज्जत खोल्नुभएको छ ।

सथप समारोहमा पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई नजानुलाई सामान्य मानिएको छ  । किनभने उहाँ व्यक्तिगत घृणा निन्दामा अग्रणी मानिनुहुन्छ । उहाँले केपी ओलीलाई राक्षसतुल्य बनाएर प्रस्तुत गर्ने गर्नुभएको छ । पूर्व प्रधानमन्त्री तथा ज्येष्ठ उमेरको हैसियत बिर्सँदै उहाँले चुनावमा खटिएको विद्यार्थी कार्यकर्ताले जस्तो गरेर लेख्ने बोल्ने गर्नुभएको छ । त्यसैले बाबुरामबाट सोमत र संस्कारको अपेक्षा धेरैले गर्दैनन् ।

त्यसो त सपथ समारोहमा माधवकुमार नेपाल पनि जानुभएन । जबकि सपथ समारोहको केही बेरपछि सिंहदरबारमा आयोजित बैठकमा भने उहाँ देखिनुभयो । एमालेमै फर्कनका लागि माधव नेपालहरु सहितको बैठक थियो त्यो । एमालेमा ठूलो भाग लिएर फर्कन बार्गेनिङ गर्ने, ब्ल्याकमेलिङ गर्ने तर त्यही एमालेका नेता प्रधानमन्त्री बन्दा खुसी नदेखाउने माधव नेपालको शैलीले धेरैलाई अचम्भित पारेको छ । उहाँ एमालेमा नफर्किएर प्रचण्डको माओवादी पार्टीमै फर्कनुहुने त होइन भन्ने प्रश्न पनि उठ्न थालेको छ ।

सपथ समारोहमा नदेखिनुभएका पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य राम्रो छैन, उहाँ घरमै आराम गरिरहनुभएको छ । अर्का पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द पनि अस्वस्थ हुनुुहुन्छ ।

राष्ट्रपति कार्यालय भन्छ– सबै पूर्व प्रधानमन्त्रीलाई निम्ता गरिएको थियो, प्रमुख प्रतिपक्षी नेता देउवालाई त झन् विशेष निम्ता गरिएको थियो ।

मैले जित्नैपर्छ, हारें भने मान्दिनँ

जगजाहेर छ– शेरबहादुर देउवा आफैं प्रधानमन्त्री बन्न चाहनुहुन्थ्यो । प्रधानमन्त्री बन्न उहाँले अपहत्ते मरिहत्ते गरेको दृष्य छर्लङग छ । राजनीतिक प्रतिस्पर्धामा देउवाले जित्न सक्नुभएन, हार्नुभयो । हारेपछि पनि हार स्वीकार नगरेको अर्थमा देउवाको अनुपस्थितिलाई लिइएको छ ।

विधि र प्रक्रियाभित्र हार र जितलाई सहज रुपमा लिने, अरुको जितलाई स्वीकार गर्ने परिपाटी नै लोकतन्त्र हो । यो शैलीको लोकतन्त्रको जनक नेपालमा हामी नै हो भनेर कांग्रेसले दावी गर्ने गरेको छ । तर, त्यही कांग्रेस हार स्वीकार गर्न मानिरहेको छैन, अरुको जितलाई पचाउन सकिरहेको छैन । आफूले जिते ठिक, हारे वेठिक भन्ने शैली प्रचण्ड, बाबुराम लगायतका नेताहरुले अपनाउँदै आउनुभएको छ । उहाँहरुले दोस्रो संविधानसभाको चुनाव परिणाम स्वीकार गर्न मान्नुभएको थिएन, पछि वाध्य भएर स्वीकार गर्नुभयो । प्रचण्ड आफैंले पनि आम चुनावमा मतगणनामा जादू गरेर जितेको किस्सा चर्चित छ ।

नयाँ प्रधानमन्त्री चयनको प्रतिस्पर्धामा देउवा, प्रचण्ड, बाबुराम र माधवहरुले औपचारिक रुपमा भाग लिनुभएको थियो । माधवले वैठक बहिष्कार गर्नु पनि संसदीय प्रक्रियाभित्रकै काम हो । उहाँहरुले मिलेर सरकार बनाउन खोज्नुभएको थियो तर सक्नुभएन । फलतः केपी ओलीको नेतृत्वमा सरकार बन्यो । आफूले चाहेजस्तो सरकार बने ठिक, नत्र वेठिक भन्ने अर्थ लागेन र सपथमा अनुपस्थित हुँदा रु

राजनीतिक सोमत, संस्कार र संस्कृतिबाट च्युत हुँदा प्रचण्ड बाबुरामहरुलाई खासै लाज नलाग्न सक्छ तर कांग्रेस सभापति देउवालाई भने लाज लागेन । प्रचण्ड बाबुरामहरुको संगत गरेर उहाँहरुकै संस्कार र सोमत देउवाले सिक्नुभएको हो कि रु प्रश्न उठेको छ ।

शुक्रबारको सपथ समारोह इतिहासमा केपी ओली तेस्रो पटक प्रधानमन्त्री बन्नुभएको दिनका रुपमा मात्र नभएर केही नेताले सोमत, संस्कार र संस्कति त्यागेको दिनका रुपमा पनि सम्झना गरिने छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !