३० कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

ल्हासा नगरबाट कामपालाई ४ थान भेन्टिलेटर सहयोग

प्रकाशित मिति :  २ जेष्ठ २०७८, आईतवार ०३:१२


काठमाडौं । कोभिड–१९ को संक्रमण नियन्त्रणमा सहयोगका लागि काठमाडौं महानगरपालिकालाई ल्हासा नगरले चार थान भेन्टिलेटर सहयोग गरेको छ ।

कामपासँग भगिनी सम्बन्ध भएको चीनको ल्हासा नगरले भिजी–७० मोडलका चार थान भेन्टिलेटर सहयोगस्वरूप पठाएको हो ।

गएको वर्षको महामारीमा पनि उक्त नगरले कामपालाई केही स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो । त्यस्तै सडक सफाइमा प्रयोग हुने ब्रुमर यन्त्र पनि प्राप्त भएका छन् । उक्त यन्त्र पनि हाल प्रयोगमा रहेका छन् ।

भेन्टिलेटर बुझिसकेपछि प्रतिक्रिया दिँदै कामपाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले भन्नुभयो, ‘काठमाडौंका नागरिकका तर्फबाट हामी ल्हासा नगर र त्यहाँका नागरिकप्रति आभार प्रकट गर्दछौं।’ ज्ञवालीका अनुसार प्राप्त सामग्री कसरी उपयोगमा ल्याउने भन्ने विषयमा छिट्टै निर्णय हुनेछ ।

भगिनी सम्बन्ध भएका चीनका अन्य नगरले पनि महामारीको समयमा सघाउने इच्छा व्यक्त गरेको कामपाले जनाएको छ । जापानको मात्सुमोतो, कोरियाको सउल महानगरलगायत भगिनी सम्बन्ध भएका नगर र सिटी नेटलगायत संस्थागत सदस्यता लिएका संजालले महामारीसँग जुध्न सघाउने उपकरण उपलब्ध गराउने इच्छा देखाएका छन् । यद्यपि हवाई यातायात संचालन नभएका कारण सामान ल्याउन कठिन हुने भएको छ ।

सहयोगस्वरूप प्राप्त भेन्टिलेटरको मूल्य एक करोड ५० लाख रुपैंया रहेको छ । उक्त सामग्री वैशाख ३१ गते कामपामा आइपुगेको हो । उक्त प्राप्त सामग्रीमा ‘हामी हिमाल र नदीले जोडिएका छौं । हाम्रो मित्रता सधैँ रहिरहनेछ’ र ‘ल्हासा र काठमाडौंको मित्रता दिगो रहिरहन्छ’ भनी लेखिएको छ ।

कामपाले १८ वटा अन्तर्राष्ट्रिय नगरसँग भगिनी सम्बन्ध स्थापित गरिसकेको छ ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !