११ मंसिर २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

बंगलादेशले चिनियाँ खोप खरिद गर्ने

प्रकाशित मिति :  ५ जेष्ठ २०७८, बुधबार १६:४४


ढाका । बंगलादेश सरकारले चीनबाट कोभिड–१९ खोप खरिद गर्ने निर्णय गरेको छ ।

बंगलादेश मन्त्रिपरिषदको आर्थिक मामिला सम्बन्धी समितिले बुधबार चिनियाँ खोप खरिद सम्बन्धी निर्णय गरेको हो ।

बंगलादेशी मन्त्रिपरिषद कार्यालयका वरिष्ट अधिकारी शाहिदा अख्तरले चीनको नेसनल फर्मास्यूटिकल ग्रुप (सिनोफार्म) बाट खोप किन्न मन्त्रिपरिषदको समितिले मञ्जुरी दिएको संवाददाताहरुलाई जानकारी दिनुभयो ।

एक साता अघि चीनले सिनोफार्मको खोप बंगलादेशलाई अनुदान दिएको थियो । बंगलादेशका लागि चिनियाँ राजदूत लि जिमिङले उक्त खोप बंगलादेशका विदेश मन्त्री एके अब्दुल मोमेनलाई एक समारोहबीच हस्तान्तरण गर्नु भएको थियो ।

बंगलादेश सरकारले चीनले अनुदानमा उपलब्ध गराएको सिनोफार्मको खोप अर्को सातादेखि लगाउन थाल्ने घोषणा यसअघि नै गरिसकेको छ ।

भारतको सेरम इन्स्टिच्यूटसँग खरिद सम्झौता गरिएको कोभिसिल्ड खोप भारत सरकारले रोकेपछि बंगलादेशको खोप अभियान गत अप्रिल २६ देखि नै स्थगित भएको छ । सेरमको विकल्पमा बंगलादेशी अधिकारीहरुले चिनियाँ खोप उत्पादक सिनोफार्मसँग खोप खरिद गर्ने निर्णय गरेका हुन् ।

बंगलादेशमा गत जनवरी २८ देखि खोप अभियान शुरु भएको थियो । हालसम्म बंगलादेशका ५८ लाख २० हजार व्यक्तिले पहिलो डोज खोप लगाइसकेका छन् ।

बंगलादेशमा हालसम्म सात लाख ८३ हजार व्यक्ति कोभिड–१९ बाट संक्रमित भएका र त्यसमध्ये १२ हजार दुई सय ४८ जनाको ज्यान गइसकेको छ ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !