विपक्षी गठबन्धनको रिटमा १४६ सांसद्को हस्ताक्षर, माधव गुटकाे संख्या घट्याे
काठमाडौं । संविधानको धारा ७६ (५) बमोजिम कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश माग गर्दै विपक्षी गठबन्धनले रिट दायर गर्दै छ ।
सर्वाेच्च अदालतमा रिट दायर गर्न जानुअघि गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् । कांग्रेस संसदीय दलकाे कार्यालयमा अहिले गठबन्धनका नेताहरुकाे बैठक बसिरहेकाे छ । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव गुटका माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव लगायत सहभागी हुनुहुन्छ ।
प्रतिनिधि सभा विघटन गरी मध्यावधि चुनावमा जाने सरकारको निर्णय विरुद्ध कांग्रेस, माओवादी, राष्ट्रिय जनमाेर्चा तथा एमालेकाे माधव गुट र जसपाकाे उपेन्द्र गुट सर्वाेच्च जान लागेका हुन् ।
रिटमा विघटित प्रतिनिधि सभाका १४६ जना सांसद्को हस्ताक्षर भएको नेताहरुकाे दाबी छ । यसअघि १ सय ४९ जनाको नाम राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाइएको थियो ।
जसमा माधव गुटका २६ जना सांसद्काे पनि हस्ताक्षर भएकाे दाबी गरिएकाे थियाे । साे गुटका सांसद् विरोध खतिवडाका अनुसार आज भने २३ सांसद्काे हस्ताक्षर छ । रिट दायर गर्ने अन्तिम समयमा एमालेका गोकर्ण विष्ट, गणेश पहाडी र पवित्रा निरौला खरेलले हस्ताक्षर नगरेपछि माधव गुटकाे संख्या २३ मा झरेकाे छ ।
रिटमा नेपाली कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाकाे उपेन्द्र गुटका १२ र राष्ट्रिय जनमोर्चाका एक जना सांसद्को हस्ताक्षर रहेको छ ।