३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

वृद्धभत्ता अब मासिक चार हजार रुपैयाँ

प्रकाशित मिति :  १५ जेष्ठ २०७८, शनिबार ११:१६


काठमाडौं । सरकारले वृद्धभत्ता बढाएर मासिक चार हजार रुपैयाँ पुराएको छ । यस अघि वृद्धभत्ता मासिक तीन हजार रुपैयाँ थियो ।

सरकारको वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वृद्धभत्ता चार हजार बनाइएको घोषणा गर्नुभएको हो । त्यसैगरी सामाजिक सुरक्षाका अन्य सबै भत्ता पनि ३३ प्रतिशत बढाइएको छ ।

एमालेले तत्कालीन वाम गठवन्धनको घोषणा पत्रमा वृद्धभत्ता चार हजार रुपैयाँ पुराउने लेखेको थियो । प्रधामन्त्री केपी शर्मा ओलीले केही महिना पहिलेदेखि नै वृद्धभत्ता बढाउने घोषणा गर्दै आउनुभएको थियो ।

एमाले सरकारले ०७६ मा वृद्धभत्ता दुई हजार रुपैयाँबाट बढाएर तीन हजार रुपैयाँ बनाएको थियो । अहिले दुई हजार थपेर चार हजार रुपैयाँ बनाइएको हो ।

०५१ सालमा तत्कालीन एमाले सरकारले वृद्ध भत्ताका साथै सामाजिक सुरक्षा भत्ता दिने युगान्तकारी काम थालेको थियो । त्यसबेला मनमोहन अधिकारी प्रधानमन्त्री र भरतमोहन अधिकारी अर्थमन्त्री हुनुहुन्थ्यो । त्यसबेला ७५ वर्ष माथिकालाई मासिक एक सय रुपैयाँ दिन थालिएको थियो । पछि उमेर पनि घटाउँदै लगियो र भत्ता पनि बढाउँदै लगियो ।

अहिले ७० वर्ष माथिकाले वृद्धभत्ता पाउने गरेका छन् । नेपालमा उमेरका आधारमा वृद्धभत्ता दिने गरिएको छ । उता भारतमा भने गरिबीको रेखा मुनि रहेकाहरुलाई मात्र वृद्धभत्ता दिने गरिएको छ । त्यहाँ अहिले ६० वर्ष माथिकाले दुई सय रुपैयाँ र ८० वर्ष माथिकाले चार सय रुपैयाँ मासिक पाउँदै आएका छन् ।

वृद्ध भत्ता तथा सामाजिक सुरक्षा भत्तामा सरकारले वार्षिक ६५ अर्ब रुपैयाँ हाराहारी खर्च गर्दै आएको थियो । अब यो खर्च वार्षिक करिब एक खर्ब रुपैयाँ हुने आकलन गरिएको छ ।

वृद्ध भत्ता तथा विभिन्न किसिमका सामाजिक सुरक्षा भत्ता बढाइएकोमा देशभरी खुसीयाली छाएको छ । सरकारको यो निर्णयको वृद्धवृद्धाहरुले स्वागत गरेका छन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !