ग्राण्डी अस्पतालमा पीसीआर परीक्षण ल्याब सञ्चालन
काठमाडौं । टोखामा सञ्चालित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पीसीआर परीक्षण ल्याब सञ्चालनमा आएको छ ।
विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै कोरोना परीक्षणका लागि ग्राण्डीले पिसिआर परीक्षण ल्याब सञ्चालनमा ल्याएको हो ।
अस्पतालका महाप्रबन्धक विकासमान सिंहले अत्याधुनिक मेसिन जडान गरी पिसिआर परीक्षण ल्याब सञ्चालनमा ल्याएको राससलाई जानकारी दिनुभयो । ‘धर्मफिसर क्वान्ट स्टुडियो फाइभ’ नामक मेसिनबाट एकपटकमा ९६ जनाको स्वाब परीक्षण गर्न मिल्नेछ । उक्त मेसिन जडानका लागि ग्राण्डीले एक करोड ५० लाख रुपैयाँ खर्च गरेको छ ।
‘पिसिआर परीक्षण ल्याब जडानसँगै अब बिरामी, अस्पतालका चिकित्सक तथा कर्मचारी पिसिआर परीक्षणका लागि अन्य अस्पताल तथा स्वास्थ्य संस्था धाउनु पर्दैन’, महाप्रबन्धक सिंहले भन्नुभयो ।
स्वाब सङ्कलन गरेको पाँचदेखि छ घण्टाभित्र बिरामीको रिपोर्ट आइसक्ने उक्त ल्याबमा कोभिडबाहेक अन्य भाइरसको समेत परीक्षण गर्न मिल्ने ल्याबका प्रमुख डा रञ्जना पराजुलीले जानकारी दिनुभयो ।
‘ल्याबमा कोभिडबाहेक एचआइभी एड्स, हेपाटाइटिस, इन्फ्लुएन्जा, जीनलगायतको परीक्षण गर्न मिल्छ’, उहाँले भन्नुभयो ।
एकपटकमा ९६ जनाको परीक्षण गर्न मिल्ने सो ल्याबमा दैनिक झण्डै तीन सय संक्रमण परीक्षण गर्न मिल्नेछ । आगामी दिनमा बिरामीको चापअनुसार सेवा विस्तार गर्दै लैजाने अस्पतालले जनाएको छ । ग्राण्डीले हाल ७० भन्दा बढी कोरोना बिरामीको उपचार गरिरहेको छ ।
०६९ मा स्थापना भएको ग्राण्डीमा दुई सय भन्दा बढी शय्यामार्फत बिरामीको उपचार हुँदै आएको छ ।
–रासस