१० मंसिर २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन सुरु

प्रकाशित मिति :  १९ जेष्ठ २०७८, बुधबार १४:२२


लुम्बिनी । प्रदेशसभाको बजेट अधिवेशन आजदेखि यहाँ सुरु भएको छ ।

अधिकांश प्रदेशसभा सदस्यले बजेटका विषयमा धारणा व्यक्त गर्नुका साटो लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको पुनः नियुक्ति र प्रदेश सरकारको विश्वासमाथि प्रश्न उठाएका छन् ।

पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य लिला गिरीले प्रदेश सरकार नितान्त नयाँ भएकाले चुनौतीका बीचमा धेरै उपलब्धि हासिल भएको उल्लेख गर्दै एक वर्षको अवधि कानून निर्माणमा केन्द्रित भएको बताउनुभयो ।

उहाँले बहुमतका आधारमा नै प्रदेश सरकार गठन भएको जानकारी दिँर्दै भन्नुभयो, ‘‘संविधानको धारा (६८) को १ बमोजिम गठन भएको सरकार बहुमतमा छ ।’’

नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्दिन खाँले सत्ता र शक्तिको विधि, विधान र पद्धति मिचेर मुख्यमन्त्रीको नियुक्ति र शपथ लिएको आरोप लगाउनुभयो ।

उहाँले प्रदेशसभाबाट मुख्यमन्त्रीलाई विश्वासको मत लिन समेत आग्रह गर्नुभयो । प्रदेशसभा सदस्य सहसराम यादव कोभिड—१९ नियन्त्रणका लागि सरकारले खास काम गर्न नसकेको आरोप लगाउँदै अहिले समाजवादी पार्टीभित्र कारवाहीमा परेकाहरु विवादित भएका र उनीहरु दलका नेता हुन नसक्ने बताउनुभयो ।

अर्का सदस्य सुदर्शन बरालले प्रभावकारी ढंगले खोप व्यवस्थापनको काम गर्न सरकारसँग आग्रह गर्नुभयो । प्रदेशसभा सदस्य वीरबहादुर राना, तारा जिसी, शंकर गिरी र इन्द्रजीत थारुले पनि सरकार अल्पमतमा परेकाले मुख्यमन्त्री पोखरेललाई नैतिकताका आधारमा राजीनामा गर्न आग्रह गर्नुभयो ।

प्रदेशसभाको अर्को बैठक भोलि बिहीबार बस्नेछ ।

—रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !