बालुवाटार जग्गाकाण्ड : ४९ जनाविरूद्ध २१ दिने सूचना जारी
काठमाडाैं । बालुवाटारस्थित ललिता निवास क्षेत्रकाे अतिक्रमित जग्गा सरकारका नाममा ल्याउने प्रकिया थालिएकाे छ ।
डिल्लीबजारस्थित भूमि सुधार तथा मालपोत कार्यालय काठमाडाैंले साे प्रक्रिया थालेकाे हाे । ललिता निवासको सार्वजनिक जग्गा प्रकरणमा मुछिएकाहरूको घर-ठेगाना पत्ता नलागेको भन्दै भूमि सुधार तथा मालपोत कार्यालय काठमाडाैंले आइतबार २१ दिने सूचना जारी गरेकाे छ ।
बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा गराउने मुख्य अभियुक्त रामकुमार सुवेदी, भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ शोभाकान्त ढकालसहित ४९ जनाको नाममा सूचना जारी गरिएको हो ।
भूमिसुधार कार्यालयको गत चैत २० को आदेशअनुसार ४९ जनाको घरमा सूचना बुझाउन जाँदा घर-ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भन्दै मालपाेतले गाेरखापत्रमा सूचना निकालेकाे हाे । ‘मालपोत ऐन २९३४ को दफा २४ को उपदफा २ बमोजिम नेपाल सरकारका नाममा ती जग्गा कायम गर्नुपर्ने भएकाले संस्था र व्यक्तिहरूलाई म्याद-सूचना घरदैलोमा बुझाउन जाँदा घर-ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भनी सम्बन्धित मालपोत कार्यालय तथा तामेल गर्न गएका कर्मचारीबाट फिर्ता प्राप्त भएको हुँदा यो २१ दिने म्याद-सूचना जारी गरिएको छ’- सूचनामा लेखिएकाे छ ।
कार्यालयले ती जग्गा नेपाल सरकारका नाममा कायम गर्नु नपर्ने कुनै कारण भए आफ्नो भएको भनाइ सबुत कागज प्रमाणसहित बाटोको म्यादबाहेक २१ दिनभित्र कार्यालयमा लिखित प्रतिक्रियासहित उपस्थित हुन भनेकाे छ । निषेधाज्ञाले कार्यालय आउन नसक्ने भए [email protected] मार्फत् आफ्नो प्रतिक्रिया वा प्रमाण कागज पेस गर्न समेत कार्यालयले आग्रह गरेको छ ।
जग्गाधनीले २१ दिनभित्र जवाफ नदिए वा प्रतिक्रिया पेस नभए कानुनअनुसार हुने सूचनामा उल्लेख छ । ताेकिएकाे समयमा मालपोत कार्यालयको सम्पर्कमा कारणसहित उपस्थित नभए सम्बन्धित व्यक्तिको नाममा रहेको जग्गा सरकारको नाममा जाने सूचनामा उल्लेख छ ।