२९ पुष २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

म्याद सकियो, अक्सिजन प्लान्ट आएन

प्रकाशित मिति :  २६ जेष्ठ २०७८, बुधबार ०४:४७


जाजरकोट । ठेक्का अवधि सकिए पनि जाजरकोटको जिल्ला अस्पतालमा अझै अक्सिजन प्लान्ट जडान भएको छैन । अक्सिजन प्लान्ट जडान नहुँदा जटिल अवस्थाका कोरोना सङ्क्रमितलाई जिल्लाबाहिर सिफारिस गर्नुपर्ने बाध्यता छ ।

जेठ १५ गतेभित्र अक्सिजन प्लान्ट जडान गर्ने गरी काठमाडौंको नेपटेक मेडिकल सप्लायर्सले ठेक्का सम्झौता गरेको थियो । कम्पनीले दुई महिनाअघि अक्सिजन प्लान्ट जडान गर्न ४० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । अक्सिजन प्लान्ट स्थापनाका लागि आर्थिक वर्षको सुरुमै बजेट आए पनि बोलपत्र प्रक्रियामा जान ढिलाइ भएको हो ।

ठेक्का सम्झौताअनुरूपको निर्धारित समय बितिसक्दा पनि नेपटेकले अस्पतालमा अक्सिजन प्लान्ट जडानको कुनै प्रक्रिया अघि नबढाएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । अक्सिजन प्लान्ट जडान नहुँदा अक्सिजनका सिलिण्डर भर्न नेपालगञ्ज पठाउनुपर्ने बाध्यता भएको स्वास्थ्य सेवा व्यवस्थापक टीकाराम जैशीले बताउनुभयो । नेपटेकले कोरोना महामारी र लकडाउनका कारण प्लान्ट जडान गर्न नसकिएको भन्दै १५ दिनको थप समय माग गरेको छ तर कार्यालयले पाँच दिनको समय मात्र थप गरेको स्वास्थ्य सेवा व्यवस्थापक जैशीले बताउनुभयो ।

उहाँका अनुसार निर्धारित समयभित्र काम सम्पन्न हुन नसके बढीमा पाँच दिनसम्म समय थप गर्न सकिने व्यवस्था छ । थप गरिएको समय पनि गुज्रिएपछि ठेकेदारले थप समय माग गरेको उहाँले बताउनुभयो । नेपटेकका प्रोप्राइटर नरबहादुर लिम्बूले जेठ मसान्तभित्र अक्सिजन प्लान्ट जडान गरिने बताउनुभयो । थपिएको समय पनि सकिएकाले ठेकेदारलाई कस्तो कारवाही गर्ने भन्नेबारे प्रमुख जिल्ला अधिकारीलगायतका सरोकारवालासँग परामर्श भइरहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

समयमा अक्सिजन प्लान्ट जडान नगर्दा कोरोना संक्रमितलाई अक्सिजन दिन समस्या भएको जिल्ला अस्पतालका मेडिकल अधिकृत ओसरसिंह राठोरले बताउनुभयो ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !