सेनाको टाेली मेलम्चीमा, दुई युवाकाे उद्धार
काठमाडाैं । नेपाली सेनाले सिन्धुपाल्चाेककाे मेलम्ची नदीमा आएको भीषण बाढीका कारण डुबानमा परेकाको उद्धार थालेको छ ।
हेलिकोप्टरसहित नेपाली सेना, नेपाल प्रहरीको टोली बुधवार बिहानै घटनास्थल पुगेको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले जानकारी दिनुभयाे । बाढीका कारण घर डुबेर छतमा अड्केकाकाे दुई जना युवाकाे सेनाले हेलिकाेप्टरमार्फत उद्धार गरेकाे हाे ।
सिन्धुपाल्चाेकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार उनीहरु हाेटलमा बाढी पसेपछि मंगलबार साँझदेखि हाेटलकाे छतमा अड्केका थिए ।
चौतारा र काभ्रेको धुलिखेलबाट नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी टोली पनि मेलम्ची पुगेर उद्धार गरिरहेकाे प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयाे । भीषण बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची बजार पूरै डुबानमा परेको छ ।
अहिलेसम्म एक जनाकाे शव भेटिएकाे प्रजिअ पाेखरेलले बताउनुभयाे । इन्द्रावती नदी किनारमा एक पुरुषकाे शव फेला परेकाे उहाँले बताउनुभयाे ।