९ मंसिर २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

लु सेयर बजारलाई हल्लायो तिलक कोईरालाको आमरण अनसनले

प्रकाशित मिति :  ५ फाल्गुन २०७७, बुधबार १०:२३


काठमाडौं । पूँजी बजार विकास तथा व्यवस्थित गर्न माग गर्दै लगानीकर्ता तिलक कोइराला चार दिनदेखि आमरण अनसन बसिरहनुभएको छ।
नेपाल स्टक एक्सचेन्जको कार्यालय अगाडि अनसन बस्नुभएका कोइरालाले १८ बुँदे माग राख्नुभएको छ ।
२०७५ मा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा पूँजी बजार अध्ययन गरी सुधार गर्न एक समिति गठन गरेको थियो ।  सो समितिले सिफारिस गरेका ५८ मध्ये १८ वटा सुझाव कार्यान्वयन गर्न बाँकी रहेको छ । ती सुझाव कार्यान्वयन हुनुपर्ने माग राखी कोइराला अनसन बस्नुभएको हो ।

शेयर लगानीकर्ता दवाब समूहको तर्फबाट कोइराला अनसन बस्नुभएको हो । उहाँ सो समूहका अध्यक्ष हुनुहुन्छ ।

अर्थमन्त्री विष्णु पौडेलसँग दुईपटक भेटेर कुरा राख्दा पनि लगानीकर्ताको माग पूरा नभएकाले आमरण अनसन बस्नुपरेको कोइरालाले बताउनुभयो । पूँजी बजारमा सुधार हुनुपर्ने माग राख्दै ०७५ पुष १ देखि चार दिन कोइराला आमरण अनसन बस्नुभएको थियो । उहाँको यो दोस्रो आमरण अनसन हो ।

पुँजी बजार सुधारका लागि सरकारले अत्यावश्यक काम नगरेकाले  जोखिम बढ्दै गएको र विकासका काम अवरुद्ध भएको कोइरालाको भनाई छ ।
शिवराज श्रेष्ठ समितिले ब्रोकर कम्पनीहरुको सञ्चालन तथा इजाजत नीतिमा पुनरावलोकन गर्नुपर्ने, बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने, ब्रोकर कम्पनीहरुलाई मर्ज गरिनुपर्ने लगायतको सिफारिस गरेको थियो ।
नेप्सेमा सूचीकृत कम्पनीहरुको नियमनका लागि छ्ट्टै निकाय स्थापन गर्ने, नेप्सेको पुनरसंरचना गर्ने, गैर आवासीय नेपालीलाई सेयर बजारमा कम्तिमा ३ बर्षका ‘लक इन पिरियड’ दिएर लगानी खुल्ला गर्नुपर्ने सिफारिस पनि समितिले गरेको थियो ।
कोइरालाको अनसनको चौथो दिन भइसक्दा पनि अर्थ मन्त्रालयले सुनवाई गरेको छैन । अनशनकारी कोइरालाले भन्नुभयो– ‘अर्थ मन्त्रालय तथा सरोकारवाला निकायहरुले वास्तै गरेका छैनन्, उनीहरु जोखिमपूर्ण अवस्थामा रहेका लगानीकर्ताहरुप्रति संवेदनशील छैनन् भन्ने प्रष्ट भएको छ । यही कारण म आमरण अनसन बसेको हूँ ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !