१० आश्विन २०८३, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

‘हिटलरका मन्त्रीले जसरी केपी ओली विरुद्ध प्रचार गरिँदैछ’

प्रकाशित मिति :  7 July, 2021 9:10 am


काठमाडौं । हिटलरका कुख्यात प्रचार मन्त्री गोयवल्सको शैलीमा प्रधानमन्त्री केपी ओली विरुद्ध प्रचार अभियान चलाइएको छ । यो दावी राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेको हो ।

राष्टिय सभाको आजको बैठकलाई सम्बोधन गर्दै भगवतीले राष्ट्रिय सभामा सभाकै गरिमा घटाउने गरी अभिव्यक्ति दिइने गरेकोमा दुःख व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री विरुद्धको प्रचारको विषयमा उहाँले मुख्य तीनवटा विषय उठाउनुभयो । केपी ओलीले राष्ट्रियताको अडान छाडेको, नेपालको नयाँ मानचित्र पाठ्यपुस्तकमा नराखिएको र भ्रष्टाचार बढेको भनी गरिएको प्रचारमा टिप्पणी गर्दै उहाँले भन्नुभयो– ‘यस्ता झुठ सयपटक दाहोराए जनताले पत्याउँछन् भन्ने हिटलरको मन्त्रीको धारणा थियो, अहिले त्यस्तै गर्न खोजिएको छ । तर, अहिले जनताको चेतनाको स्तर धेरै बढेको छ । जनताले ठिक बेठिक छुट्याउन सक्छन् ।’

‘पाठ्युपुस्तकमा पूरानै नक्सा राखिएको भनी आएको अभिव्यक्ति सत्य छैन’– उहाँले भन्नुभयो– ‘यस सम्बन्धमा मैले जानकारी लिएँ । कक्षा एक, दुई, तीन, ६, ११ र १२ कक्षाका पाठ्यपुस्तकमा नयाँ नक्सा राखिएको छ ।’

पार्टीको आमसभामा लगाए जस्तो मिथ्या आरोप राष्ट्रिय सभा बैठकमा लगाउने गरिएको उहाँको टिप्पणी थियो ।

नयाँ नक्सा जारी गर्न इतिहासमा कसैले हिम्मत नगरेको भन्दै उहाँले केपी ओली सरकारको परराष्ट्र नीति सफल भएको, अन्तराष्ट्रिय फोरमहरुमा नेपालको साख र प्रभाव बढेको बताउनुभयो ।

‘वैदेशिक हस्तक्षेप गुहार्ने काम कसले गर्यो ? छिमेकीका लागि कम्फर्टेबल सरकार बनाउनुपर्छ कसले भन्यो ? वैदेशिक हस्तक्षेप गुहार्ने काम कसले गरेको छ ?’– भगवतीले प्रश्न गर्नुभयो ।

अहिलेका मन्त्रीहरुले भ्रष्टाचार गरेको भविष्यमा प्रमाणित भएमा पनि कारवाही हुने, त्यसबेला पार्टीले नजोगाउने दावी गर्दै भगवतीले भन्नुभयो– ‘भ्रष्टाचार प्रमाणित भएपछि जेल बसेर निस्कने नेतालाई सय किलोको माला बोकेर स्वागत गर्न हामी जाँदैनौं । त्यस्ता पार्टीका कार्यकर्ता होइनौं हामी ।’

संविधानको ७६ को अपब्याख्या गरिएको भन्दै दूषित हस्ताक्षरको प्रयोग गरिएको, दूषित हस्ताक्षर बुझाईएको भन्दै भगवतीले भन्नुभयो– ‘वास्तवमा यो विषयमा जालसाजीमा मुद्दा लगाउनुपर्ने देखिन्छ ।’

ताजा जनादेश नै लोकतान्त्रिक विधि भएको भन्दै उहाँले चुनावमा जानुपर्ने बताउनुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !