एमालेको विवाद समाधान कार्यदलकाे बैठक आज पनि बस्दै
काठमाडाैं । नेकपा एमालेको विवाद समाधान कार्यदलकाे बैठक आज पनि बस्दैछ ।
बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा सहमति जुट्ने कार्यदलका नेताहरुले बताएका छन् । बुधबार बसेको संस्थापन र माधव गुटका नेता सम्मिलित कार्यदलको बैठक सहमति नजिक पुगेको र आज अन्तिम रुप दिइने नेताहरुले बताएका हुन् ।
कार्यदलमा रहेका नेताहरूको पहलमा बुधबार राति पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता भएको थियाे । उहाँहरुबीच कार्यदलले सहमतिका लागि तयार पारेकाे खाका लगायत विषयमा छलफल भएकाे थियाे । अध्यक्ष ओली र नेता नेपालबीचकाे छलफल अनुसार आज कार्यदलले सहमतिको खाका तयार पार्नेछ ।
अध्यक्ष ओली र नेता नेपालबीचकाे वार्तामा सहभागी हुनुभएका माधव गुटका नेता सुरेन्द्र पाण्डेले वार्ता सकारात्मक भएकाे र आज निर्णायक वार्ता हुने बताउनु भएकाे थियाे ।१० औं महाधिवेशन आयोजक कमिटी भंग गरी ०७५ जेठ ३ गते अगाडिको सांगठनिक संरचनाका आधारमा पार्टी सञ्चालन गर्न अध्यक्ष ओली तयार भएपछि एमालेमा सहमतिको वातावरण बनेको हो ।
यसअघि साेमबार, मंगलबार र बुधबार पनि कार्यदलकाे बैठक बसेकाे थियाे । अध्यक्ष ओली र नेता नेपालबीचको सहमतिबाट १० सदस्यीय कार्यदल गठन भएको थियो । कार्यदलमा संस्थापनबाट सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णुप्रसाद रिमाल हुनुहुन्छ । माधवकुमार नेपाल गुटबाट डा.भीमबहादुर रावल, घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त हुनुहुन्छ ।