एमाले विवाद समाधान कार्यदलले तयार पारेकाे सहमतिकाे दस्तावेज आज सार्वजनिक हुँदै
काठमाडौं । नेकपा एमाले विवाद समाधान कार्यदलले तयार पारेकाे सहमतिकाे दस्तावेज आज सार्वजनिक हुँदैछ ।
एमाले प्रवक्ता एवं कार्यदल सदस्य प्रदीपकुमार ज्ञवालीका अनुसार कार्यदलले तयार गरेको सहमतिको दस्तावेजलाई भाषिक परिमार्जन गरेर आज सार्वजनिक गर्न लागिएकाे हाे । शुक्रबार सिंहदरबारमा बसेकाे कार्यदलकाे बैठकले पार्टी एकताका लागि सहमतिकाे दस्तावेज तयार पारेकाे थियाे ।
पार्टीभित्र देखिएका विवाद समाधान गर्न भन्दै असार २१ गतेदेखि कार्यदलकाे बैठक निरन्तर बसिरहेकाे छ । यसबीचमा अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच असार २३ गते वार्ता भएकाे थियाे ।
कार्यदलमा संस्थापनबाट सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णुप्रसाद रिमाल हुनुहुन्छ । माधवकुमार नेपाल गुटबाट डा.भीमबहादुर रावल, घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त हुनुहुन्छ ।