पार्टी फुटाएर देश, जनता र वामपन्थी आन्दोलन कसैको भलो हुँदैन-भीम रावल
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कडा जवाफ दिनुभएकाे छ ।
शनिबार काठमाडाैंमा भएकाे कार्यक्रममा प्रचण्डले भीम रावलकाे राजीनामाबारे अनेक आराेप लगाउनु भएकाे थियाे । रावलको राजीनामा पाँच दलको गठबन्धन फुटाउने खेल भन्ने प्रचण्डकाे आराेपकाे खण्डन गर्दै रावलले कडा आपत्ति जनाउनु भएकाे हाे ।
प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएर आफू स्वच्छ राजनीति र पार्टी एकताको पक्षमा उभिएको प्रष्ट पार्दै रावलले लेख्नुभएकाे छ – ‘प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएर म स्वच्छ राजनीति र पार्टी एकताको पक्षमा उभिएको हूँ, पुष्पकमल दाहाल’प्रचण्ड’जीले भन्नुभएझैं ‘ढलेको’ होइन ।’
एमालेलाई ढाल्न भएका षडयन्त्रविरुद्ध पनि रावलले खुलासा गर्नुभएकाे छ । ‘प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएर म ढलेको होइन, नेकपा एमालेलाई ढाल्ने षडयन्त्र विरुद्ध स्वस्थ राजनीतिक अभ्यासको पक्षमा उभिएको हूँ, एमसीसी, नागरिकता, लिम्पियाधुरा लिपुलेक कालापानी र अन्य राष्ट्रिय हितका विषयमा प्रम देउवासँग कुरा गर्ने अवसर नदिई राजनीतिक भविष्य नै दाउमा राखेर निर्देशन मान भन्नु कुन विधि र गठबन्धन संस्कृति हो ?’
स्वस्थ राजनीति र पार्टी एकताको पक्षपोषण गर्दा त्यसलाई नेताहरुबीच फाटो ल्याउने काम ठान्नु विग्रहकारी चिन्तन भएकाे रावलले उल्लेख गर्नुभएकाे छ । राजनीतिक भविष्य दाउमा राखेर प्रतिनिधि सभा पुर्नस्थापनाकाे पक्षमा उभिने हिम्मत आफूहरुले राखेकाे भन्दै रावलले प्रचण्डलाई प्रश्न गर्नुभएकाे छ – ‘हाम्रो स्थितिमा हुनुभएको भए के प्रचण्डजी हाम्रोजस्तै त्याग गर्न तयार हुनुहुन्थ्यो ?’
यस्ताे छ रावलकाे स्पष्टिकरण
मैले प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएकोमा पुष्पकमल दाहाल ‘प्रचण्ड’जीले यही साउन ९ गते एउटा सार्वजनिक कार्यक्रममा आक्रोश व्यक्त गर्नुभएको रहेछ। मेरो राजीनामालाई ‘पाँच दलको गठबन्धन’ फुटाउने ‘खेल’ भन्ने उहाँको हास्यास्पद र मनगढन्ते भनाइका सन्दर्भमा यी कुराहरूमा ध्यान दिनु उचित हुनेछ।
–गठबन्धन प्रतिनिधि सभा पुनःस्थापनाका लागि भएको हो। यस क्रममा शेरबहादुर देउवाजीलाई प्रम बनाउने सहमति हो, देउवाजीको स्वार्थ प्रधानमन्त्री हुने, प्रचण्डीको स्वार्थ आफ्ना पार्टीका मानिसलाई मन्त्री बनाउने, उपेन्द्रजीको स्वार्थ महन्थ ठाकुरसँगको संघर्षमा जित हासिल गर्ने र माधव नेपाल पक्षको स्वार्थ पार्टीमा स्वेच्छाचारिता क्रियाकलापलाई पराजित गर्ने रहेको थियो। कोही पनि आफ्नो पार्टी फुटाएर अरू कसैका सामु लम्पसार पर्न गठबन्धनमा सामेल भएका होइनन्। साझा स्वार्थ मिल्दासम्म सहयात्रा गर्ने कुरा मात्र हो।
–प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएर म ‘ढलेको’ होइन, नेकपा (एमाले) लाई ढाल्ने षड्यन्त्रका विरुद्ध र स्वस्थ राजनीतिक अभ्यासको पक्षमा उभिएको हुँ। एमसीसी, नागरिकता, लिम्पियाधुरा–लिपुलेक–कालापानी र अन्य राष्ट्रिय हितका विषयमा प्रम देउवासँग करा गर्ने अवसर नदिई राजनीतिक भविष्य नै दाउमा राखेर निर्देशन मान भन्नु कुन विधि र गठबन्धन संस्कृति हो?
–हामीले सांसद पद मात्र होइन, राजनीतिक भविष्यसमेत दाउमा राखेर प्रतिनिधि सभाको पुनःस्थापना र देउवाजीलाई प्रम बनाउन योगदान पु-यायौं। हाम्रो स्थितिमा हुनुभएको भए के प्रचण्डजी हाम्रोजस्तै त्याग गर्न तयार हुनुहुन्थ्यो?
–मैले स्वस्थ राजनीति र पार्टी एकताको पक्षपोषण गर्न त्यसलाई ‘नेताहरूबीच फाटो ल्याउने’ काम ठान्नु विग्रहकारी चिन्तन हो। पार्टी फुटाएर देश, जनता र वामपन्थी आन्दोलन कसैको भलो नहुने स्पष्ट छ।