प्रचण्डले बिनालाई मन्त्री बनाए विद्रोह हुने
काठमाडौं । पार्टीमा योगदान गरेका पूरानाहरुलाई पाखा लगाउँदै फेरी पनि प्रचण्डले बुहारी बिना मगरलाई मन्त्री बनाए विद्रोह हुने अवस्था सिर्जना भएको छ ।
प्रचण्डले बिना मगरलाई मन्त्री बनाउन लागेको सुइको पाएलगतै माओवादी सांसद्हरुको एक समूहले बिनालाई मन्त्री बनाए राम्रो नहुने चेतावनी दिएका छन् ।
बिनालाई मात्र नभएर उनीहरुले कृष्णबहादुर महरालाई पनि मन्त्री बनाइए ठिक नहुने चेतावनी दिएका छन् ।
अध्यक्ष प्रचण्डले बिनालाई मन्त्री बनाउने चक्कर चलाउँदा मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको माओवादी सांसद्हरुको बुझाई रहेको छ ।
अध्यक्ष प्रचण्डले सुरुमै जनार्दन शर्मा र पम्फा भुषाललाई मन्त्रीमण्डलमा पठाइसक्नुभएको छ । अब बुहारी बिना र महरालाई मन्त्रिमण्डलमा लैजाने प्रयास प्रचण्डको छ । यही कुरा बुझेर सांसद्हरुले प्रचण्डलाई भेटेरै बिनालाई मन्त्रिमण्डलमा लगिए ठिक नहुने चेतावनी दिएका हुन् ।
सांसद्हरु हरिबोल गजुरेल, अमनलाल मोदी, इन्दुकुमारी शर्मा, धर्मशिला चापागाईं लगायतले अध्यक्ष प्रचण्डलाई भेटेर बिनालाई मन्त्री नबनाउन चेतावनी दिएका हुन् ।
जानकारहरुका अनुसार बिनालाई मन्त्री बन्न नदिन प्रचण्डकी शक्तिशाली छोरीहरु गंगा दाहाल र रेणु दाहाल पनि लाग्नुभएको छ । गंगा र रेणु दुवैजना बिनाका कट्टर विरोधीका रुपमा चिनिनुहुन्छ ।
प्रचण्डकी बुहारी बिना पहिले पनि मन्त्री हुनुहुन्थ्यो । पार्टीमा योगदान गरेका पूरानाहरुलाई पाखा लगाउँदै प्रचण्डले बुहारीलाई सांसद् बनाउनुभएको थियो । त्यसपछि पहिलो रोजाईको रुपमा केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बनाउनुभएको थियो ।
मन्त्रिमण्डल बारम्बार पुनर्गठन हुँदा पनि बुहारी बिना अविच्छिन्न मन्त्री पदमा सुरक्षित रहनुभएको थियो । उता, कृष्णबहादुर महरा भने सभामुख हुनुहुन्थ्यो । संसद्मै कार्यरत एक महिलासँगको लसपस काण्ड सार्वजनिक भएपछि महराले पदबाट राजीनामा दिनुपरेको थियो ।
दुवैजनालाई मन्त्री बनाउने पृष्ठभूमि बनाउनलाई नै प्रचण्डले ‘हाम्रो पार्टीका ४९ जनै सांसद्लाई मन्त्री पद चाहिएको छ’ भन्नुभएको थियो । माओवादीका सांसद्हरुले अध्यक्षले आफूहरुलाई पदलोलुप देखाएकोमा आपत्ति जनाउन थालेका छन् । एक सांसद्ले भने– ‘पद चाहिने प्रचण्ड आफू र आफ्नो परिवारलाई हो, अरुलाई पदलोलुप देखाएर बेइज्जत गर्दै हुनुहुन्छ ।’