१० चैत्र २०८२, मंगलबार
  • हाम्रो बारेमा
  • विज्ञापन

ताेडफाेड र ढुंगामुढा गर्ने काम विराेधीहरूकाे मात्र हाे-प्रम ओली

प्रकाशित मिति :  22 February, 2021 12:27 pm


काठमाडाैं । ‘हाम्रो काम विध्वंश होइन, हाम्रो काम रचना गर्ने हो, निर्माण गर्ने हो’ – प्रधानमन्त्री केपी शर्मा ओलीकाे भनाई छ ।

कञ्चनपुरको वेदकाेट नगरपालिकास्थित दैजी-छेला औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले ताेडफाेड र ढुंगामुढा गर्ने काम विराेधीहरूकाे मात्र भएकाे बताउनुभयाे । दाङमा आफूले उद्घाटन गरेको राप्ती पुलको शिललेख भत्काएकाेमा आपत्ति जनाउनु भएकाे हाे । अलिकति आँखा झिमिक्क गर्ने हाे विरोधीहरूले पुल नै भत्काउन बेर नलाग्ने पनि उहाँले बताउनुभयाे ।

अदालतलाई दबाब दिने काम आफूले नगरेकाे स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले भन्नुभयाे – ‘हामी लोकतन्त्रमा न्यायालयलाई धम्क्याउने दबाब दिने कुरामा विश्वास गर्दैनौं, मैले कसैलाई धम्की दिनुपर्ने आवश्यकता छैन, हामी स्वतन्त्र न्यायालयको पक्षमा छाैं ।’

शनिबार विराटनगरमा आयाेजित जनसभामा बाेलेकाे कुरालाई गलत अर्थ लगाइएकाे बताउँदै प्रधानमन्त्री ओलीले आफूले ढुंगा-मुढा हान्ने आन्दोलन गर्छु नभनेको स्पष्ट पार्नुभयाे ।

उहाँले भन्नुभयाे – ‘मैले त देश बनाउने आन्दोलन, लोकतन्त्रलाई बलियो बनाउने आन्दोलन भनेको थिएँ, उनीहरुले त नारा जुलुश बुझेछन्, राजनीतिक आर्थिक, सामाजिक, संस्कृति सबै पक्षको आन्दोलन निरन्तर चलिरहन्छ भनेको हूँ, उहाँहरूले भनेजस्ताे नारा जुलुश गर्ने, ढुंगा-मुढा गर्ने आन्दोलन भनेको होइन ।’

प्रतिनिधि सभा विघटनबारे सर्वाेच्च अदालतले जस्ताे फैसला गरेपनि आफ्नाे राजनीति नसकिने भन्दै उहाँले लोकतन्त्रलाई सुद‍ृढ पार्न रचनात्मक आन्दोलन गरिने बताउनुभयाे । प्रतिनिधि सभा विघटनपछि देश चुनावमा गएकाे बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयाे – ‘केही मानिसहरु यस्तो भयो भने आफ्नो राजनीति सकिन्छ भनेर छटपटाइरहेका छन् तर, हाम्रो राजनीति जे भएपनि सकिँदैन, चलिरहन्छ ।’

अदालतले गर्ने निर्णय सबै समयमा उपयुक्त नहुने बताउँदै उहाँले भन्नुभयाे – ‘त्यसकारण मानिसले पुनरावेदन गर्छन् ।’ प्रतिनिधि सभा पुर्नस्थापना भए देश फेरि अस्थिरतामा जाने बताउँदै उहाँले भन्नुभयाे – ‘फेरि प्रधानमन्त्री खोज्न हिँड्नुपर्छ, त्यसका लागि पार्टीहरु खोज्नुपर्छ, कसैको बहुमत पुग्दैन, भागबण्डाको राजनीति, सांसद् खरिदबिक्री, अस्थिरता फेरि सुरु हुन्छ ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !