१२ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

देश बजेटविहीन अवस्थामा,प्रधानमन्त्री देउवालाई असफल बनाउन प्रचण्डकाे प्रयास

प्रकाशित मिति :  ३१ भाद्र २०७८, बिहीबार ०५:०६


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई असफल बनाउन पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल लगायतले प्रयास गर्दा मुलुक ठूलो आर्थिक संकटमा फसेको छ ।

देश बजेटविहीन अवस्थामा पुग्दा सरकारले दैनिक कार्यमा खर्च गर्नै नसक्ने अवस्था सिर्जना भएको छ । यो काम मुख्यगरी प्रचण्डको डिजाइनमा अगाडि बढेको देखिएको छ ।

शेरबहादुर देउवालाई असफल बनाउने, नालायक प्रमाणित गर्ने, कांग्रेसलाई थिलथिलो कमजोर बनाउने रण नीति प्रचण्डले अपनाउँदै आउनुभएको छ । यही कारण उहाँले संसद्लाई गतिरोधपूर्ण र सरकारलाई चल्नै नसक्ने बनाउनुभएको छ ।

प्रचण्डले देउवा सरकारलाई सहयोग गर्ने, प्रधानमन्त्री देउवाका समस्या समाधान गर्ने कुनै पनि काम अहिलेसम्म गर्नुभएको छैन । मन्त्रिमण्डल विस्तार हुन यसरी र उसरी रोक्दै आउनुभएका प्रचण्डले संसद्बाट बजेट पारित गर्नमा पनि गतिरोध गर्नुभएको छ ।

प्रचण्डको कार्यकर्ताका रुपमा भूमिका निर्वाह गरिरहनुभएका सभामुख अग्निप्रसाद सापकोटाका कारण अहिले प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै अवरुद्ध रहेको छ । अवरोधकै बीच कैयन प्रस्तावहरु अगाडि बढाउने सभामुखले बजेट पारित गर्न भने वास्तै गर्नुभएको छैन ।

मन्त्रिमण्डल विरुतार नहुने, सरकारले कुनै काम अगाडि बढाउन नसक्ने, संसद् चलाउन नसक्ने, बजेट समेत परिचालन गर्न नसक्ने अवस्थाले देउवा सरकार इतिहासकै सर्वाधिक नालयक सरकार बनेको छ । प्रचण्डले चाहनुभएको यही हो ।

प्रचण्डको ट्याक्टिस

पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र उपेन्द्र यादवका आआफ्ना पार्टी छन् । आउँदो स्थानीय चुनाव, प्रदेश चुनाव र आम चुनाव यी पार्टीहरुले एक्लाएक्लै लड्न सक्दैनन् । उपेन्द्र यादवको पार्टीको दुई नम्बर प्रदेशमा बलियो उपस्थिति छ तर एक्लैले उसले ठूलो चुनावी सफलता हात पार्न सक्ने अवस्था छैन ।

माधव नेपालको पार्टीले चुनावमा एमालेको केही भोट काट्न सक्ने आँकलन गरिएको छ । तर, चुनावसम्ममा माधवको पार्टीका सबै एमालेमा फर्किसक्ने र माधवको गोठ रित्तो हुने अवस्था देखिएको छ । त्यसैले माधवको पार्टीलाई आफूमा विलय गराएर अथवा माधवको पार्टीसँग गठवन्धन गरेर माओवादीले चुनावी सफलता पाउन नसक्ने निश्चित छ

माओवादीले चुनावमा जिवित रहनका लागि एमाले या कांग्रेससँग गठवन्धन गर्नुपर्ने हुन्छ । एमालेले माओवादीसँग गठवन्धन गर्ने कुनै सम्भावना देखिएको छैन । यो अवस्थामा कांग्रेससँग चुनावी गठवन्धन नगरी नहुने अवस्थामा माओवादी छ । तर, कांग्रेस कसैसँग गठवन्धन गर्न तयार छैन । एमाले र कांग्रेस दुवै एक्लै चुनाव लड्ने पक्षमा देखिएका छन् ।

कांग्रेसलाई चुनावी गठवन्धनमा ल्याउन उसलाई कमजोर बनाउनुपर्ने हुन्छ । कांग्रेस कमजोर भयो भने मात्र चुनावी गठवन्धनमा आउन तयार हुन्छ । यही कारण कांग्रेसलाई नालायक प्रमाणित गर्ने, देउवालाई असफल बनाउने, कांग्रेसलाई थिलथिलो बनाउने प्रचण्डको रणनीति बनेको हो ।

यही कारण देउवा सरकारको काखमा बसेर देउवालाई नै असफल पार्ने प्रचण्डको भूमिकाका कारण संसद् अवरुद्ध र सरकार गतिहीन भएको हो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !