२६ आश्विन २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

जुम्लामा सुरु भयाे कालिजपालन

प्रकाशित मिति :  २० माघ २०७७, मंगलवार ०५:३५


जुम्ला । कालिजपालन व्यवसाय जुम्लामा सुरु भएकाे छ । पर्यटक प्रवद्र्धन, दीर्घकालीन व्यवसाय र उत्पादनका लागि गुठीचौर गाउँपालिका–४ बिगारे गाउँमा कालिजपालन सुरु गरिएको हो ।

जुम्लामै हजारौँ सङ्ख्यामा कालिजपालन गरी ग्रामीण पर्यटनलाई बढावा दिने र जङ्गली कालिजको चोरी सिकार कम गर्न व्यवसाय थालिएको सञ्चालक महाकृष्ण पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार महालक्ष्मी कालिज फार्म खोलेर व्यवसाय सुरु गरिएको छ । स्वदेशमै स्वरोजगार सिर्जना गरी देशको आर्थिक विकासमा सहयोग पुर्‍याउने उद्देश्यका साथ व्यवसाय सुरु गरिएको पाण्डेले बताउनुभयो ।

हिमाली हावापानीमा पालिएको कालिज पोषणका हिसाबले पनि निकै उत्तम हुने पशुपक्षी विज्ञ बताउँछन् । यहाँको मासुको गुणस्तर तथा स्वादमा निकै फरक भएको ग्राहकले समेत भन्न थालेका बताइएको छ ।

भेटनरी तथा पशुपालन विकास कार्यालयका प्रमुख गोविन्द महतले यहाँको मासुको गुणस्तर तथा स्वादमा निकै फरक हुने बताउनुभयो ।

एक हजार उत्पादनको लक्ष्य

जुम्लामै कालिजका चल्ला उत्पादन गर्ने लक्ष्यसाथ खोलिएको सो फार्म भविष्यमा रिसर्च सेन्टरका रूपमा समेत विकसित गर्ने तयारी रहेको छ । यसका साथै एक हजार बढी चल्ला उत्पादन गर्ने लक्ष्य लिइएको सञ्चालकले जनाएका छन् ।

तीन वर्षमा जुम्लालाई आवश्यकपर्ने कालिज उत्पादन गर्न सकिने सञ्चालकको दाबी छ । १५ लाख रुपैयाँ लगानी गरी फार्म खोलिएको हो । अहिले फार्ममा ४० पोथी र एक सय १५ भाले कालिज रहेका छन् ।
–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !