२६ आश्विन २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

यसरी पक्राउ परिन् भारतमा कोठी सञ्चालन गर्ने चमेली

प्रकाशित मिति :  २८ फाल्गुन २०७७, शुक्रबार ११:०४


काठमाडाैं । प्रहरीले भारतमा कोठी सञ्चालन गर्ने मानव बेचबिखन अपराधमा संलग्न रही फरार रहेकी नुवाकोटको साविक गाउँखर्क गाविस–९ की ६२ वर्षीया रुकमाया तामाङ (चमेली) लाई पक्राउ गरेको छ ।

उनले सीता तामाङका नाममा मानव बेचबिखन गर्ने गरेको खुल्न आएको छ । उनले भारतको नयाँ दिल्लीस्थित जिबी रोडको ५६ नम्बर गल्लीमा कोठी सञ्चालन गरेर बस्ने गरेको पत्ता लागेको छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले नुवाकोट प्रहरीको सहयोगमा विदुर नगरपालिकाबाट पक्राउ गरी अनुसन्धान थालिएको ब्युरोका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्याैपानेले जानकारी दिनुभयो । उनका विषयमा काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्यादसमेत थप गरी अनुसन्धान जारी छ ।

पीडित महिलालाई उनका सहयोगीले चितवनमा आफन्तको घरमा काम लगाइदिन्छु भन्ने बहानामा काठमाडौँबाट लगेको अनुसन्धानबाट देखिएको छ । त्यसपछि गिरोहले बीच बाटोमा पानीमा बेहोस हुने औषधि खुवाएर भारतको नयाँ दिल्लीस्थित तामाङको कोठीमा पुर्‍याएर बिक्री गरेको खुलेको न्याैपानेले बताउनुभयो ।

त्यसपछि तामाङले पीडितलाई बन्धक बनाई जबर्जस्ती यौन पेशामा लगाएकी थिइन् । मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो । उनका सहयोगी अन्यको खोजी जारी रहेको ब्युरोले जनाएको छ ।
–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !