मौरीबाट उपचार केन्द्र स्थापना गरिंदै

चितवन । भण्डारामा मौरीबाट गरिने उपचार (एपि) थेरापी केन्द्र स्थापनाको काम शुरु गरिएको छ ।
मौरीपालन विकास कार्यक्रमअन्तर्गत राप्ती नगरपालिका–६ मा केन्द्र स्थापनाको काम शुरु गरिएको हो । प्रदेश सरकारले पाँच लाख रुपैयाँको लगानीमा पुरानो भवनलाई मर्मत थालिएको सो केन्द्रमा विभिन्न रोगको उपचार मौरी र मौरीजन्य उत्पादनबाट गरिने छ ।
अहिले भौतिक संरचना मर्मतको काम भइरहेको कार्यालयका प्रमुख डा, शिव रिजालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अहिले भौतिक संरचना निर्माणको काम भइरहेको छ ।’ केन्द्र सञ्चालन अघि उपचार पद्धति सिकाउने र यसबाट हुने फाइदाको विषयमा जनचेतना जगाउने काम गरिने छ । भवनका लागि आवश्यक उपकरणको व्यवस्थासँगै जनतामा सचेतना जगाउने काम भइरहेको छ ।
यस केन्द्रमा मह, कुट, कुटको चोप, विभेनम (मौरी विष) लगायतको प्रयोग गरी उपचार गरिने छ । रिजालका अनुसार मौरी र मौरीजन्य उत्पादनबाट छाला, नसा, हाडजोर्ने, मानसिक रोगलगायतको उपचार गर्न सकिन्छ । रुघाखोकी र नसाको रोगका लागि खोटोबाट गर्न सकिन्छ भने मौरीको घारबाट नेभुलाइजर जडान गरी छाति र फोक्सोको उपचार गर्न सकिने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मौरीको घारमा आएको आवाज र त्यहाँ उत्पन्न रसायनको कारण शारीरिक स्वस्थतालाई मद्दत पुग्ने गर्छ ।’ नेपालमा मौरी र मौरीको उत्पादनबाट उपचार गर्ने केन्द्र काठमाडौंमा रहेको भन्दै उहाँले यसको विस्तार गर्नसकेमा मौरी पर्यटन विकास गर्न सकिने जानकारी दिनुभयो । मौरीलाई टोकाएर र मौरीको घारमाथि विस्तार बनाएर सुत्दा मानसिक रोगको उपचार गर्न सकिने बताइएको छ ।
प्रदेश सरकारले पर्यटन प्रवद्र्नधका लागि सौराहामा एपि थेरापी केन्द्र स्थापना गर्ने भनेको भए पनि सो स्थानमा व्यवस्थापनमा कठिन परेपछि भण्डारामा स्थापना गरिएको हो ।
मौरीपालक कृषकलाई मह उत्पादन मात्र नभएर मौरीको विभिन्न परिकार उत्पादनका लागि मद्दत पुग्ने उद्देश्यले यो केन्द्र स्थापना गर्न लागिएको हो ।
-रासस