सुनसरीमा स्वास्थ्य सुरक्षामा कडाइ
काठमाडौं । कोरोना संक्रमण फैलने जोखिमलाई ध्यानमा राखी सुनसरी जिल्लामा पनि स्वास्थ्य सुरक्षामा कडाइ गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरी स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गरेको छ । कार्यालयले जारी गरेको सूचनामा होलीको अवसरमा भिडभाड नगर्न आग्रह गरिएको छ ।
कोरोना संक्रमण फैलन सक्ने कुरालाई मध्यनजर गरी पहिला सञ्चालनमा आएका क्वारेन्टाइन, आइसोलेशन केन्द्रलाई तयारी अवस्थामा राखी स्वास्थ्य केन्द्रबाट प्रवाह गरिने सेवालाई अझ प्रभाकारी बनाउन स्थानीय तह तथा स्वास्थ्य कार्यालयलाई आग्रह गरिएको छ ।
यसैगरी सेनिटाइजर, मास्कको प्रयोग तथा व्यक्तिगत दुरी कायम गराउनको लागि स्वास्थ्य संस्था तथा सुरक्षा निकायलाई परिचालित हुन पनि प्रशासनले निर्देशन दिएको छ ।
कोरोना संक्रमणलाई ध्यानमा राखी रात्रीकालीन पेशा व्यवसायलाई भिडभाड नगर्न र अबेरसम्म पेशा व्यवसाय नगर्न कार्यालयले निर्देशन दिएको छ ।