२६ आश्विन २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

दुर्घटना न्यूनीकरणका लागि आकाशेपुल मर्मत र निर्माण

प्रकाशित मिति :  १९ फाल्गुन २०७७, बुधबार ०४:५५


काठमाडौँ । महानगरपालिकाले चालु आर्थिक वर्षमा नयाँ आकाशे पुल निर्माणसँगै र जीर्ण रहेकाको मर्मतको कामलाई पनि तीव्रता दिएको छ । अहिले वीर अस्पताल अगाडिको आकाशे पुल मर्मतको काम भइरहेको छ । यहाँको काम सकेसँगै आवश्यकता हेरी अन्य स्थानमा पनि काम अघि बढाइने कामपाको तयारी छ । कामपाभित्र सुन्धारा, नयाँ सडक, वीर अस्पताल, रत्नपार्क–भोटाहिटी, जमल, रत्नपार्क–बागबजार, पुरानो बसपार्क, भद्रकाली र नयाँ बसपार्कमा आकाशे पुल चालु छन् ।

भद्रकाली, पुरानो बसपार्क र नयाँ बसपार्कमा केही वर्षअघि निर्माण गरिएको पुल मर्मत गर्न नपर्ने अवस्थामा छन् । अन्य स्थानका पुल तत्काल मर्मत गर्नुपर्ने अवस्थामा रहेको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताउनुभयो । त्यसैगरी नयाँ पुल निर्माणको पहिलो चरणमा चावहिल र पुरातत्व विभाग अगाडि निर्माणको काम सम्पन्न गरी प्रयोगमा नै आइसकेका छन् । पुलको आवश्यकता धेरै स्थानमा छ र भएकाको पनि मर्मतको काम त्यत्तिकै आवश्यकता रहेकाले कामपाले यी दुवै कामलाई अघि बढाएको प्रवक्ता डङ्गोलको भनाइ छ ।

तत्काल आठ स्थानमा पुल बनाउने योजना कामपाको छ । दुई स्थानका सम्पन्न भइसके, तीन स्थानमा निर्माण चरणमा छन् र अन्य पनि शुरु गर्ने तयारी छ । तत्काल निर्माण भएका र आगामी दिनमा निर्माण गरिने सबै पुल आवश्यकतानुरुप एक स्थानबाट अन्यत्र सहजै स्थानान्तरण गर्न सकिने किसिमको छ ।

दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापनसँगै पैदलयात्रुको सहजताका लागि ट्राफिक प्रहरी र सडक विभागको सहकार्यमा कामपाले ती स्थानमा नयाँ किसिमका पुल बनाउन लागेको हो । टेकु भन्सार, त्रिपुरेश्वर, पुतलीसडक, महाराजगञ्ज, कोटेश्वर, गौशाला चोकमा पनि नयाँ पुल निर्माण गर्ने कामपाको योजना छ ।

सवारी साधनको अत्यधिक चाप हुने ती क्षेत्रमा त्यस्ता पुल अभावमा पैदलयात्रुलाई बाटो काट्न समस्या पर्र्दै आएको छ । पैदलयात्रुले जथाभावी बाटो काट्दा सवारी जामको अवस्था देखिँदै आएको छ ।

-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !