राजेश हार्डवेयर बालाजु शाखामा शिलबन्दी
काठमाडाैं । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले शुक्रबार र शनिबार गरेको बजार अनुगमनमा राजेश हार्डवेयरकाे बालाजु शाखाले बिलमा भन्दा कम सामान दिएर उपभोक्ता ठगी गरेको पाइएको छ।
उक्त हार्डवेयरले गोरखकाली सोलार एण्ड मेटल वर्कसपलाई बिलभन्दा कम सामान दिँदा ठगी गरेको पाइएको हो ।
नापतौल कार्यालयका प्रमुख एवं वरिष्ठ निरीक्षक मनिसकुमार दासले फलामे एङ्गल, स्टिल रङ, पाता, एसएस पाइपलगायतमा धेरै परिणामको बिल बनाइ कम सामान उपभोक्तालाई दिएको भन्दै उनीहरुलाई कारवाहीको दायरामा ल्याइएको जानकारी दिनुभयो ।
गोरखकाली सोलार एण्ड मेटल वर्कसपको नाममा जारी गरिएको बिलमा १८८.१ किलोग्राम फलामे एङ्गलमा १४.३ किलोग्राम, ३१८.४ किलोग्राम एसएस रडमा २८.८ किलोग्राम, २०१.१ किलोग्राम फ्ल्याटमा १०.६ किलोग्रामसम्म कमी रहेको कार्यालय प्रमुख दासले बताउनुभयो ।
नापतौल कार्यालयले राजेश हार्डवेयर बालाजु कार्यालयको सटरसमेत शिलबन्दी गरेको छ । सो हार्डवेयरले विभिन्न कम्पनीका रङ, स्टिललगायतका सामग्री बिक्रीवितरण गर्दै आएको थियो ।
–रासस