२८ पुष २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

डीएसपी गोविन्दको नाम, ओखलढुंगामा प्रहरीको काम

प्रकाशित मिति :  १३ जेष्ठ २०७८, बिहीबार ०६:१२


काठमाडौं । ‘हेल्लो सर, मेरो बुवालाई असाध्यै ज्वरो आइरहेको छ, म के गरौं ?’ फोनमा आएको प्रश्न हो यो ।

‘हेल्लो सर, मलाई भोक पनि छैन, गन्ध पनि छैन, अब मैले कहाँ जँचाउने होला ?’ अर्काे प्रश्न हो यो ।

प्रश्न पढ्दा लाग्यो होला, कुनै डाक्टरलाई आएको फोन हो यो । कोभिड महामारीका बेला डाक्टरलाई यस्ता फोन आउने नै भयो । तर, माथि उल्लेख गरिएको फोन चाहिँ प्रहरीलाई आएको हो ।

आपत् विपत् परेपछि कसलाई फोन गर्ने ? प्रहरीलाई फोन गर्ने । गाउँघरका सर्वसाधारणले यही बुझेका छन् । त्यसैले ओखलढुंगाका प्रहरीले यस्ता फोन र प्रश्न सामना गरिरहनु पर्छ ।

हो, यसै कारण ओखलढुंगामा रहेका दुईवटा एम्बुलेन्स जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । एम्बुलेन्सले बिरामी ओसारपसार गर्छ, अनि खाली हुँदा प्रहरी कार्यालयमा आएर बस्छ ।

कोभिड महामारी नियन्त्रणमा अग्रपंक्तिमा खटिएको छ नेपाल प्रहरी । यता निषेधाज्ञा लागू गर्ने चटारो छ, उता बिरामीलाई अस्पताल पुर्याउने हतारो छ । देशभरिका प्रहरीले भोग्नुपरेको समस्या यही हो । ओखलढुंगाका प्रहरीको हालत पनि यस्तै छ ।

‘जिल्लामा कोभिड–१९ संक्रमण नफैलियोस् भनेर निक्कै सतर्कतासाथ काम गरिरहेका छौं, दिनरात नभनि सक्दो सेवा दिइरहेका छौं’– ओखलढुंगा जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी गोविन्दराज काफ्ले भन्नुहुन्छ ।

महामारी नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गरको भनेर ओखलढुंगामा जनप्रतिनिधि तथा स्थानीयवासीले प्रहरी नायव उपरीक्षक (डीएसपी) काफ्लेको दील खोलेर प्रशंसा गरिरहेका छन् । स्थानीय स्तरमा प्रशंशित काफ्लेले के के गर्नुभयो ? सनराइज खबरले केही प्रश्न काफ्लेलाई नै सोधेको छ ।

उहाँको पहिलो भनाइ छ– ‘त्यस्तो विशेष केही गरेको छैनौँ, जनताको सेवा मात्र गरेका छौं ।’

उहाँले भन्नुभयो– ‘म प्रति व्यक्तिगत जनविश्वास भए नभएको मलाई थाहा छैन तर, ओखलढुंगामा प्रहरी संगठनप्रति अपार जनविश्वास देखेर हामीलाई जोसजाँगर अझ बढेको छ ।’

काफ्ले भन्नुहुन्छ– ‘अपराधको घटना हुँदा प्रहरीलाई सम्पर्क गर्नुपर्छ भन्ने जनतामा परेको छ । आपत् विपतमा पनि प्रहरीले नै हाम्रो सेवा गर्ने हो भन्ने जनधारणा छ । यसकारण बिरामी हुँदा पनि हामीलाई फोन गर्छन्, यसलाई म अन्यथा मान्दिनँ ।’

‘बिरामीले फोन गर्ने ठाउँ प्रहरी होइन, तैपनि जनताले फोन गर्दा दिक्क नलागेर खुसी लाग्छ’ काफ्ले भन्नुहुन्छ । प्रहरी प्रति जनविश्वासका कारण अस्पतालमा जानुपर्ने फोन प्रहरीकोमा आएको ठान्नुभएको छ, काफ्लेले ।

महामारी नियन्त्रणका लागि ओखलढुंगाका स्थानीय तह र सरोकारवालासँग निरन्तर समन्वय गरेर काम गरिरहेको काफ्ले बताउनुहुन्छ । उहाँको भनाइ छ– ‘ओखलढुंगा अरु जिल्लाभन्दा केही फरक छ । यहाँका जनप्रतिनिधि तथा अगुवा जुनसुकै पार्टीका भए पनि आफ्नो ठाउँ र जनतालाई माया गर्नुहुन्छ । यहाँ सामूहिक भावना छ । यहाँका जनप्रतिनिधि तथा अगुवा राजनीतिक आस्था भुलेर आफ्नो ठाउँ तथा समाजको सेवा गर्नुपर्छ भनेर समर्पित छन् ।’

‘महामारीले समाज आक्रान्त बनेको बेला अपराधिक तत्व सक्रिय हुनसक्छ, यसमा हामी सचेत छौँ, त्यसैले २४ घन्टा सचेत छौँ’–डीएसपी काफ्ले भन्नुहुन्छ । प्रहरीको व्यथा सुनाउँदै उहाँ भन्नुहुन्छ– ‘प्रहरीले जहिले पनि भोक तिर्खा नभनि काम गरेकै छ । महामारी आएको बेला प्रहरीलाई आराम कहाँ छ ? हामी अहोरात्र ड्युटी गरिरहेका छौँ । किनभने हामी नेपाल प्रहरी हौँ ।’

डीएसपी काफ्लेका अनुसार ओखलढुंगामा तीनसय ७८ जना संक्रमित भएका छन् । तीनजना संक्रमितको ज्यान गएको छ ।

काफ्ले भन्नुहुन्छ– ‘मैले निरन्तर जनताको बीचमा रहेर प्रहरी टिमलाई संक्रमणबाट जोगाउन प्रयास गरिरहेको छु । प्रहरीलाई अरुबाट संक्रमण नसरोस् र अरुलाई पनि प्रहरीबाट संक्रमण नसरोस् भनेर विशेष ध्यान दिएको छु । त्यसैले अहिलेसम्म प्रहरी कर्मचारीहरु संक्रमित बनेका छैनन् ।’

प्रहरीलाई संक्रमणबाट जोगाउन कसरी सम्भव भयो भन्ने प्रश्नमा प्रहरी नायव उपरिक्षक काफ्ले भन्नुहुन्छ– ‘जोगाउने तरिका साधारण छ । जनस्वास्थ्यका मापदण्ड तथा प्रहरी प्रधान कार्यालयले जारी गरेको स्वास्थ्य सम्बन्धी निर्देशन हुबहु पालना गराएको छु । यही कारण प्रहरी कर्मचारी संक्रमित भएका छैनन् ।’

उहाँको भनाइ छ– ‘प्रहरी जनशक्ति संक्रमित भयो भने जिल्लामा महामारी नियन्त्रणको अभियान प्रभावित हुन्छ । यही कारण प्रहरीलाई स्वास्थ्य मापदण्ड पालना गर्न अत्यन्त कडाइ गरेको छु ।’

‘जनताको ज्यान जोगाउनका लागि प्रहरीले आफ्नो ज्यान जोगाउनै पर्छ’– डिएसपी काफ्लेको भनाइ छ ।

ओखलढुंगा प्रहरीले जिल्ला बाहिरबाट कोही प्रहरी कर्मचारी हाजिर हुन आए वा बिदा बसेर आए भने व्यारेकमै बनाएको क्वारेन्टिनमा राख्छ । संक्रमणको कुनै लक्षण देखिएन भने १२ दिनपछि ड्युटीमा खटाउने गरेको छ ।

संक्रमितको चाप बढ्न थालेपछि चिन्ता लागेको उहाँले बताउनुभयो । जिल्लामा मिशन अस्पताल र जिल्ला अस्पताल गरी दुईटा अस्पतालमा संक्रमितको उपचार भइरहेको छ । मिशन अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट छ । सो प्लान्टबाट दैनिक सात वटा सिलिण्डर मात्र भर्न सकिन्छ । संक्रमितको संख्या बढेपछि अक्सिजन भर्न विराटनगर पठाउने तयारी भइरहेको छ ।

यो महामारीका बेला पनि जिल्लामा आइसीयू र भेन्टिलेटर भने एउटा पनि छैन ।

जिल्लामा भित्रनेका कारण महामारी नफैलियोस् भनेर खोटाङ, सोलुखुम्बु र ओखलढुंगाको संगमस्थलमा रहेको हर्कपुर नाकामा अहिले होल्डिङ सेन्टर बनाइँदै छ ।

चनाखो प्रहरी, छैन अपराध

महामारीका बीच ओखलढुंगामा अपराध नियन्त्रण गर्न डिएसपी काफ्ले सफल हुनुभएको छ । भीरबाट लडेर, आत्महत्या जस्ता घटनाबाट केहीको ज्यान गएपनि जिल्लामा ठूला आपराधिक घटना नभएको उहाँले जानकारी दिनुभयो । काफ्ले भन्नुहुन्छ– ‘बाल यौन दुराचार, बलात्कार लगायातका घटना अहिले रिपोर्टिङमा आएका छैनन्, चोरी डकैती जस्ता घटना पनि शून्य जस्तै छ ।’

महामारीका बेला अत्यन्त सफल जिल्ला प्रहरी प्रमुखका रुपमा कहलिनुभएका काफ्लेलाई हामीले सोध्यौं– कसरी जनप्रिय हुनुभयो ?

जवाफमा उहाँले भन्नुभयो– ‘म जनप्रिय छु भन्ने मलाई थाहा छैन, तपाईंले जनप्रिय भनेर प्रश्न सोधिदिनुभएकोमा धन्यवाद । तर, ओखलढुंगामा काम गरिरहँदा नेपाल प्रहरीप्रति जनताको विश्वास देखेर म भावविभोर हुने गरेको छु ।’

उहाँको भनाइ छ– ‘जनताको यस्तै मायाका कारण आफ्नो ज्यान माया मारेर पनि प्रहरी कर्मचारीहरु जनताको सेवामा लागिरहेका छन् ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !